pradesh 5.jpg

प्रदेश नं ५ स्थित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक केही समय अघिमात्रै सुरू भएको छ । आजको बैठकको मुख्य एजेण्डा भनेको प्रदेश राजधानीको विषयमा उठेका विषयमा केन्द्रीत हुने बताइएको छ । प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक ११ बजेमात्रै सुरू भएको थियोे । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलको कारण बैठक ढिलो सुरू भएको स्रोतले संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रदेशको राजधानीको स्थान र नामाकरण गरेपछि उक्त प्रदेशमा व्यापक तोडफोड र आगजनी गरिएको थियो । यसै कुरालाई मध्यनजर गर्दै आज उक्त बैठक बोलाइएको प्रदेश संसदीय दलको कार्यालयले जनाएको छ । दुई दिनको तोडफोड र हिंसात्मक गतिविधिलाई ध्यान दिंदै बैठकस्थल बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

चार दिन अघिमात्र मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी देउखुरी राख्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सरकारले प्रदेशसभामा प्रस्ताव पनि पेस गरिसकेको छ । उक्त प्रस्तावमाथि छलफल गर्न आजै प्रदेशसभाको बैठक समेत बोलाइएको छ । प्रस्ताव पारित गर्ने विषयमा भने नेकपाका सांसदहरू नै मतऐक छैनन् । यदी प्रदेश राजधानी दाङ नै बनाउने निर्णय गरे आफूले पार्टीको ह्वीप नमान्ने पार्टीका नेकपाका सांसद विष्णु पन्थीले चेतावनी समेत दिएका छन् ।