tato.jpg

विगत तीन महिनादेखि बन्द तातोपानी नाका, चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्राउन आजदेखि तातोपानी नाका संचालन हुन लागेको छ । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।खासा क्षेत्रमा नेपाली ब्यवसायीहरुका डेढ सयको हाराहारीमा मालबाहक कन्टेनर छन् । ती कन्टेनर नेपाल भित्राउन नाका खुल्न लागेको हो । खासा क्षेत्रमा रहेको सामान चिनियाँ भन्सार एजेन्टले मितेरी पुलसम्म ल्याएर झारिदिन्छन् । मितेरी पुलबाट तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पिसिआर रिपोर्ट नेगेभिट आएका नेपाली मजदुरले लोड गरी ल्याउनेछन् ।

तातोपानी नाका र रसुवा नाका सधैं खोलिनु पर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले सरकारसंग आग्रह गरे । उनका अनुसार तातोपानी नाका २०७२ सालको भूकम्पले बन्द भएपछि दश हजारभन्दा बढी ब्यापारी, मजदुरहरु बिस्थापित हुनुपरेको छ । ०७२ बैशाख १२ गतेको भूकम्पका कारण बन्द तातोपानी नाका २०७६ जेठ १५ गते खुलेको थियो । कोरोना महामारीको कारण देखाउदैं चीनले गएको माघबाट सो नाका बन्द गरेको थियो ।नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिएका छन् । आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ ।कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।

यहि असोज १३ गते दुई मित्र देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो । नजिकिएको बिजया दशमी अघि खासा क्षेत्रमा अडकिएका सबै कन्टेनर नेपाल आईपुग्नेछन् । खासा क्षेत्रबाट कन्टेनर भित्रिएपछि सो नाका बन्द हुने वा संधैं सुचारु हुने भन्ने बिषयबारे केही निर्णय भएको छैन ।