1234.jpg

आगामी कात्तिक १ गतेबाट एउटै ब्यक्ति उस्ता उस्तै प्रकृतिका दुईवटा सहकारीको सदस्य बन्न नपाउने भएको छ । सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार सहकारी विभागले कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्नेे जानकारी गराएको छ ।सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहेको भए ३ वर्षभित्र एउटा संस्थाको मात्रै सदस्यता कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ कात्तिक १ गतेदेखि कार्यन्वयन हुने भएकाले यही असोज मसान्तमा नै ३ वर्ष पूरा हुने पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने भएका छन् । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले अब एउटा मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिनुभएको छ । विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित सेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्नका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिएको छ ।

हाल देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयरमार्फत अद्यावधिक भइरहेकोले सबै सदस्यलाई एउटा मात्रै सहकारी संस्थाको सदस्यता कायम राख्न अनुरोध गरेको छ । सहकारी सदस्यको विवरण अद्यावधिक भएपछि कति व्यक्ति दोहोरो सदस्य छन् भन्ने यकिन हुन्छ । सहकारीको निर्देशन अटेर गरेमा सजाय हुने सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेको भनाइ छ । यस अन्तर्गत २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । सहरी क्षेत्रका अधिकांश व्यक्तिहरु एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य रहेका छन् । हाल सहकारीका सदस्यको संख्या ६५ लाखभन्दा बढी भएको सहकारी विभागको तथ्याङ्कमा उल्लेख छ ।