222.jpg

काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पटक पटक नयाँ विवाद उब्जने गरेको छ । पार्टीका नेताहरु पद र शक्तिको दल दलमा फस्दा पार्टी भित्र विवाद चुलिने गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मिचाहा प्रवृत्तिले पार्टी विवादको दलदलमा फस्ने गरेको राजनीतिक विश्लेषकहरुको ठम्याई छ । सरकारले हिजोमात्रै मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपा भित्र नयाँ विवाद सिर्जना भएको छ । स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेकै समयमा सहमतिबिना नै सरकारले एकाएक महत्वपूर्ण पदमा राजनीतिक नियुक्ति गरेपछि नेकपामा विवाद बल्झिएकोे हो । अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि व्यक्त गरे ।

स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि असोज ४ र ६ मा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्नेलगायतका एजेन्डाहरु थिए ।

गत असोज ४ गते कोटेश्वर स्थित पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे मात्र छलफल भएको थियो । सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा विभिन्न विकल्पमा छलफल भएको थियो । प्रधानमन्त्रीबाहेक सबै हटाउने र सबै नयाँ पठाउने, सबै नहटाउने तर दुई वर्ष पुगेकालाई हटाउने र अरु नयाँ राख्ने दोस्रो विकल्प र त्यो नगरेर पुराना केही राम्रा काम गरेकालाई राख्ने र बाँकी थप्ने गरी तीन विकल्पमाथि छलफल भएको थियो ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली मन्त्रिमण्डलको सामान्य पुनर्गठनको अडानमा रहेता पनि कार्यकारी अध्यक्ष दाहाल व्यापक पुनर्गठन गर्नु पर्नेमा जोड दिंदै आएका छन् । पार्टी उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले मन्त्री बन्ने चाहना व्यक्त गरेपछि यस विषयमा अध्यक्षद्वय बीच मतभेद उत्पन्न भएको थियो । तर, उपाध्यक्ष गौतमलाई मन्त्री बनाउने विषय भने संवैधानिक विवादमा तानिएको छ । गौतमको राष्ट्रिय सभा सदस्य र थप जिम्मेवारीको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यसबारे भने नेकपाले औपचारिक निर्णय गर्न सकेको छैन ।