nakapa.jpg

नेकपाको सचिवालय बैठक आज पनि स्थगित भएको छ ।आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित गरी आइतबार दिउँसो ४ बजे बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले बैठक सरेको जानकारी नेताहरुलाई गराउनु भएको हो । सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र विवाद उत्पन्न भएको थियो ।

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिना नै सरकारले महत्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा नयाँ विवाद सिर्जना भएपछि सचिवालय बैठक माग भएको थियो ।

स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि असोज ४ र ६ मा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्नेलगायतका एजेन्डाहरु थिए । गत असोज ४ गते कोटेश्वर स्थित पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे मात्र छलफल भएको थियो । सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा विभिन्न विकल्पमा छलफल भएको थियो ।

नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरिरहेका छन् । नेकपामा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको एकीकरण सम्पन्न गर्नेलगायतका काम बाँकी छन् ।