कोरोना भाइरसविरुद्धको खोप पत्ता लागि प्रयोगमा आइसकेको अवस्थामा पनि आउँदो वसन्तसम्ममा पनि जनजीवन सामान्य बन्न नसक्ने कुराको जानकारी नेतृत्वदायी वैज्ञानिकहरुको समूहले दिएको छ ।
कोरोना भाइरस महामारीको एक मात्र अचूक औषधी अथवा विकल्पका रुपमा खोपलाई लिइए तापनि अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागी परेका छन् ।२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेका छन् । जसमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनकारि दिएको छ । तर खोप पत्ता लागि प्रयोगमा आउन थाले पनि आउँदो वसन्तसम्ममा पनि जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने कुराको जानकारी नेतृत्वदायी वैज्ञानिकहरुको समूहले दिएको छ ।
रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि सोही अनुसारको हुनु पर्ने उल्लेख गरिएको छ । खोप प्रयोगमा आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुले जानकारि दिएका छन् । खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्ने वैज्ञानिकहरुले सो प्रतिवेदनमा सुझाव दिएका छन् ।
इम्पेरियल कलेज लण्डनको नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युडकी डा. फिओना कलीले भनेकी छन्, ‘ खोप विकासको इतिहास हेर्दा धेरै असफलताहरु पनि आएका छन् तर महामारी अन्त्यका लागि खोपसँग ठूलो आश छ ।’ बेलायत तथा अमेरिकासहितका देशमा यहि वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र आउँदो वर्षको सुरुमा बिस्तारित रुपमा खोप लगाउने क्रम सुरु हुने अपेक्षा गरिएको छ । अमेरिकामा त खोपले राजनीतिक विषयको रुप लिएको छ । तर रोयल सोसाइटीको रिपोर्टले भने खोप तत्काल उपलब्ध नहुने तर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको उल्लेख गरेको छ ।

इम्पेरियल कलेज लण्डनका केमिकल इन्जिनियरिङ्ग विभाग प्रमुख निलय शाहले भनेका छन्, ‘खोप विकास भएपछि प्रयोगमा आएको महिना दिन भित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन । खोप लगाउने प्रक्रिया पूरा हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्छ । त्यसैले आउँदो मार्चमा पनि जनजीवन सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।’