कोरोना भाइरस संक्रमणका कारण आज नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका एक चिकित्सकको मृत्यु भएको छ । चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । योसँगै आज मृत्यु हुनेको सङ्ख्या ११ जना रहेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराउनु भएको हो ।
नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या १ हजार ९ सय ११ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना नयाँ सङ्क्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा ८ सय १७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जना रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको सङ्ख्या ९ सय ६१ जना रहेको छ । यो सहित हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या ५७ हजार ३ सय ८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।