क्रिष्ट्रियानो रोनाल्डो निकै मेहनती छन् । जसका कारण ३५ वर्षको उमेरमा पनि उनी उस्तै उत्कृष्ट छन् । विगतमा सर कार्लो एन्सिलोट्टी, जिनेदिन जिदान एलेक्स फर्गुसन, लगायत प्रशिक्षकहरुले उनको प्रशंसा गर्ने गरेका थिए । अहिले आन्द्रे पिर्लो समेत उनका प्रशंसक बनेका छन् ।
पिर्लोले युभेन्टस्का यी स्टार फुटबलर अझै लामो समय लयमै रहने विश्वास व्यक्त गरेका छन् । यस सिजन र रोनाल्डोले इटालियन सिरिएमा केवल दुई खेलमा तीन गोल र एक एसिस्ट गरिसकेका छन् । नापोलीविरुद्ध आइतबार हुने खेलअघि मुख्य प्रशिक्षक पिर्लोले उनको प्रसंशा गरेका हुन् । ‘रोनाल्डो निकै मेहेनती छन् । उनी सबैभन्दा पहिले ट्रेनिङमा आउँछन् । अनि, टे«निङ सकेर अन्तिममा मात्रै फर्कन्छन् । उनीसँग गहिरो लगाव छ,’ पिर्लोले भने,‘उनले निकै शान्दार रुपमा सिजन सुरु गरेका छन् र मलाई आशा छ, अन्त्यसम्म पनि उनले यसरी नै खेल्नेछन् । उनी सबैका लागि उदाहरण हुन् ।’
युभेन्टस् र नपोली दुबै क्लबका केही खेलाडीहरुमा कोरोना भाइरस देखिए पनि दुईबीच तय भएको खेल निर्धारित समयमै आयोजना हुन लागेको हो । यता, युरोपेली च्याम्पियन्स लिग फुटबलमा रोनाल्डोको युभेन्टस्ले लियोनल मेसीको बार्सिलोना, डायनामो किभ र फेरेनकाभारोससँग समूह जीमा प्रतिस्पर्धा गर्दैछ । र, चुनौतीका लागि पिर्लो तयार छन् । युभेन्टसले पछिल्लोपटक १९९६ मा च्याम्पियन्स लिग जितेको थियो ।
त्यस पछि ५ पटक फाइनल पुगेर पनि यो उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक युभेन्टस् सिरिए उपाधीसँगै च्याम्पियन्स लिग पनि जित्न चाहन्छन् । च्याम्पियन्स लिगमा युभेन्टसको पहिलो खेल २० अक्टुबरमा किमविरुद्ध हुनेछ । ‘हामी निकै कडा समूहमा छौं । बार्सिलोनासँग खेल्नु सधैं महत्वपूर्ण छ किनकि यसले हाम्रो खेलाडीहरुमा धेरै जिम्मेवारी बढाउँछ,’ उनले भने, ‘हामीलाई थाहा छ, हामीले धेरै खेल खेल्नेछौं । तर मलाई लाग्छ, पहिलो खेल किभमा खेल्न पाउनु राम्रो हो, किनकि त्यहाँ डिसेम्बरको तुलनामा अक्टुबरमा कम जाडो हुन्छ ।’