tu.jpg

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपालको उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । सीमित स्रोत र साधन भए पनि विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि अझ अनुसन्धानमुखी,गुणस्तरिय एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन दिदै जानुपर्ने कुरामा जोड दिनुभएको हो ।

त्रिभुवन विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७\७८ विद्युतीय माध्यमबाट आयोजना गरिएको सभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँँले नेपालको सन्दर्भमा त्रिभुवन विश्वविद्यालय नै आधुनिक शिक्षाको धरोहर भएको भन्दै विश्वविद्यालय ख्यातिप्राप्त, अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयहरु सरह नै रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । उच्च शिक्षा विश्वस्तरीय, मौलिक एवं प्रतिस्पर्धी हुनुपर्ने र मुलुकको चौतर्फी आवश्यकतालाई सम्बोधन गर्ने शिक्षा वर्तमान युगको आवश्यकता रहेको धारणा राख्नुभएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोेभिड–१९ को सङ्क्रमणबाट सिर्जित विश्व परिस्थितिलाई अवसरका रूपमा परिणत गर्दै उच्च शिक्षा थप सिर्जनशील एवं उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कोभिड–१९ का कारण नेपालको शैक्षिक व्यवस्थापनमा थप चुनौती थपिएको भन्दै उहाँले वैकल्पिक शिक्षण विधिको उपयोग गरी शैक्षिक सत्रलाई सदुपयोग गरिने बताउनुभएको हो । त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री पोखरेलले आफ्नो बासस्थानलाई नै शिक्षण सिकाइको महत्वपूर्ण स्थानका रूपमा विकसित गर्दै शिक्षालाई बहुआयामिक बनाउने अवसरका रूपमा लिन सम्पूर्ण शिक्षक एवं प्राध्यापकलाई अनुरोध गर्नुभएको छ ।