cabinate meeting.jpg

सरकारले एकलौटी तवरले राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरु गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि बढ्ने संकेत देखिएको छ । महत्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत लगायत महत्वपूर्ण निकायमा नियुक्ति गरेपछि नेकपामा विवाद बढ्ने अवस्था सिर्जना भएको हो ।
सरकारले पार्टीसँग कुनै छलफल र सल्लाह नगरीकन महत्वपूर्ण दुई देशका लागि राजदूत नियुक्ति गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिका र बेलायतका लागि क्रमश डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई राजदूतमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव लोकदर्शन रेग्मीले बिहिबार नै पदबाट राजीनामा दिएका हुन् । राजीनामा गरेको केही घण्टामै उनको राजीनामा स्वीकृत गरेर राजदूत बनाउने निर्णय गरिएको हो । यो सँगै प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार रहेका डा.युवराज खतिवडालाई पनि अमेरिकाका लागि नेपाली राजदूत बनाउने भएको छ । दुवैजना राजदूत नियुक्तिबारे पार्टीमा कुनै छलफल र परामर्श नभएकोले पार्टीभित्र विवाद उत्पन्न हुन पुगेको हो ।