oli prachanda photo.jpg

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिसिएको सम्बन्धलाई ‘ब्रेक थ्रु’ गर्न तीन दिनदेखि ठूलो कसरत गरिरहेका छन् । प्रधानमन्त्री ओलीले आफूसँग रुष्ट बनेका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’लाई फकाउन आफ्ना कोटरीका पात्रहरुलाई खुमलटार पठाउने कार्यलाई आज पनि निरन्तरता दिएका छन् ।

आज बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका र दूतको रुपमा खुमलटार पुगेका ज्ञवालीले मिलेर अघि बढ्नुको विकल्प नभएको कुरा अध्यक्ष प्रचण्डलाई सुझाए थिए । हिजो पनि प्रधानमन्त्री ओलीले स्थायी कमिटीका सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलमार्फत् प्रचण्डलाई फकाउन प्रयत्न गरेका थिए । तर प्रचण्डको सचिवालय स्रोतका अनुसार पार्टी निर्णय उल्लङ्घन गरिरहने अनि मिलेर जानुको विकल्प छैन भन्ने सन्देश पठाइरहने प्रवृत्तिले आफूहरुलाई एक ठाउँमा उभिने वातावरण बनाउन नसक्ने सन्देश ओलीलाइ ज्ञवालीमार्फत् सुझाएका थिए ।

मन्त्रिपरिषद् हेरफेर, नेकपा कर्णाली प्रदेशको प्रदेशसभामा उत्पन्न विवाद, राजदूत नियुक्ति प्रकरण र भारतीय सुफिया संस्था ‘रअ’ का प्रमुख गोयलको नेपाल आगमन प्रकरणलगायतका कारण अध्यक्षद्वय ओली र प्रचण्डबीच कार्तिक ४ गतेदेखि औपचारिक भेटवार्ता हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत् पटक पटक छलफलका लागि बालुवाटार आमन्त्रण गरेता पनि अध्यक्ष प्रचण्डले त्यसलाई इन्कार गर्दै आएका छन् । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालका अनुसार–अब दुई अध्यक्ष खड्गप्रसाद ओली र प्रचण्डले भेटेर वा उनीहरु एक्लाएक्लै छलफल गरेर मात्रै समस्या समाधान नहुने स्थितिमा नेकपा पुगेको छ ।