water.JPG

काठमाडौँ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँ बिदामा ३० वटा भन्दा बढी व्यवसायी फर्मको अनुगमन गरेर एक चौथाइलाई कारबाही गरेको जनाएको छ । विभागका निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा दशैँमा बढी कारोबार हुने लत्ताकपडा, माछामासु, खाद्यान्न, प्रशोधित खानेपानी, तरकारी, फलफूल र मिठाई पसलको अनुगमन थियो ।

अनुगमनको नेतृत्व गर्नुभएका निर्देशक आचार्यले विगतका वर्षहरूमा दशैँ बिदामा उपभोक्ता ठगिने गरेकाले यस वर्ष दशैँ बिदामा समेत अनुगमनलाई निरन्तरता दिएको जानकारी दिनुभयो । दशैँमा माछामासु, खाद्यवस्तु, लत्ताकपडाको बढी कारोबार हुने भए पनि उपभोक्ताकोे बढी गुनासो प्रशोधित पिउने पानीमा भएकोले अनुगमनको नेतृत्वलाई ध्यान दिएको जानकारी दिनुभएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रवीन्द्र आचार्यका अनुसार पानी उद्योगको अनुगमन गरिएकोमध्ये टोखा नगरपालिकाको शुभलक्ष्मी फुड एन्ड वेभरेज प्रालिको पानी उद्योगलाई सिलबन्दी गरिएको छ भने तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको त्रिशूली मिनरल एन्ड वेभरेज प्रालिलाई जरिवाना गरिएको छ ।

शुभलक्ष्मी पानी उद्योगले पानी उद्योग सञ्चालनका लागि गर्नुपर्ने उद्योग दर्तादेखि अनुज्ञापत्र केही पनि नगरेको पाइएपछि सिलबन्दी गरिएको होे । पानी उद्योग सञ्चालन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गुणस्तर प्रमाणित अनुज्ञापत्र लिनुपर्छ भने उद्योग कानुनी रूपमा दर्ता भएको हुनुपर्छ । त्रिशूली पानी उद्योगले अनुज्ञा पत्र लिएको भए पनि उपत्यका खानेपानी बोर्डसँग इजाजत नै नलिई भूमिगत पानी तानेर बोतल तथा जारमा भरेर बिक्री गर्ने गरेको पाइएकाले ५० हजार जरिवाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार असोज ८ देखि कात्तिक १२ सम्म ६ सय १ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमा सातवटा व्यवसायी फर्मको कारोबार रोक्का गरिएको छ भने दुई उद्योगविरुद्ध मुद्दा दर्ता भएको छ । विभागले यस अवधिमा ७० वटा व्यवसायी फर्मसँग स्पष्टीकरण लिएको छ भने १ सय ८ वटा व्यवसायी फर्मलाई जरिवाना गरेर ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यस अवधिमा ३ सय ९० वटा व्यवसायी फर्मलाई तत्काल सुधारको निर्देशन दिइएको र एक लाख २५ हजार ३ सय मूल्य बराबरको म्याद नाघेका सामान नष्ट गरिएको विभागले जनाएको छ ।