काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकको मिति तय भएर अन्तिम अवस्थामा स्थगित भएको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कात्र्तिक २१ गते शुक्रबारका लागि पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्ने छ ।
आगामी १४ औं महाधिवेशन तयारीका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारीका साथै केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उक्त बैठकमा उपस्थित हुन पार्टीले निर्देशन दिएको छ ।
नेपाली कांग्रेस आगामी फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने भनिएको १४ औं महाधिवेशन र पार्टीमा उत्पन्न विवादलाई समाधान गर्ने बताइए पनि यस अघि गत असोज १९ गतेका लागि बोलाइएको बैठक अधिकांश कांग्रेस नेताहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिए पछि स्थगित भएको थियो । कांग्रेस उच्च स्रोतले बताए अनुसार आगामी फागुनका लागि तय गरिएको महाधिवेशको मिति कोरोना महामारीको कारण सारिने छ ।