youba raj 2077.jpg

सरकारले अमेरिकाका लागि राजदूतका लागि सिफारिस गरिएका पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र डा. युवराज खतिवडाविरुद्ध तीनवटा उजुरी परेका छन् । लाभको पदमा घुमिरहने डा. खतिवडालगायत बेलायतको राजदूतका लागि सिफारिस गरिएका पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी तथा दक्षिण अफ्रिकाका लागि सिफारिस गरिएका डा.निर्मलकुमार विश्वकर्माका विरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले आव्हान गरेको थियो ।
उनीहरुका विरुद्ध परेका कुनै पनि उजुरीका बारेमा संसदीय सुनुवाइ समितिले राजदूतका लागि सिफारिस गरिएकाहरुसँग स्पष्टीकरण लिने छ । अमेरिकाका लागि राजदूतमा सिफारिस गरिएका डा. खतिवडा विरुद्ध उनी नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा ठगिको आरोप खेपिरहेका सुधिर बस्नेतको ओरेन्टियल ऋण सहकारीलाई कुनै कारवाही नगरी सहयोग गरेको आरोप लगाइएको छ ।
त्यसैगरी बेलायतको राजदूतका लागि सिफारिस गरिएका पूर्वमुख्य सचिव लोकदर्शनका विरुद्ध उनी गृहसचिव हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको अवस्था प्रहरीका प्रमुख प्रहरी महानिरीक बढुवामा गलत निर्णय गर्न सल्लाह दिएको आरोप छ भने अर्का अफ्रिकाका लागि सिफारिस गरिएका डा. विश्वकर्माका विरुद्ध खासै आरोपको उजुरी नपरेको स्रोतले बताएको छ ।
संसदीय सुनुवाइ समितिले आगामी कात्तिक १६ गतेका दिन उजुरीकर्ताहरुलाई उपस्थितिको लागि बोलाउने निर्णयसमेत गरेको छ । उजुरीकर्ताहरुसँग छलफल गरेपश्चात् प्रस्ताव गरिएका राजदूतहरुलाई सुनुवाइका लागि समितिले बोलाउने छ । नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी निर्णयबाट राजदूतमा सिफारिस गरिएको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत पार्टीका शीर्ष नेताहरुको ठूलो असन्तुष्टि रहँदै आएको छ ।