traffic polish 1.jpg

काठमाडौँ – बडादशैं, तिहार तथा छठलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । सुरक्षाकर्मीको प्रभावकारी परिचालनमार्फत चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना लागू गर्न लागेको हो । मुख्यतः चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि बसपार्क क्षेत्र, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बसपार्क र गौशालामा ८ वटा टोली सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरी सादा पोसाकका ट्राफिक प्रहरीलेफर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्ने जनाएको छ ।

टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था समेत गरिएको एसएसपी ढकालको भनाइ छ । तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउने सर्वसाधारणसँग अपिल गर्नुभएको छ । महाशाखाले सार्वजनिक गरेको ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए नभएको प्रविधिबाट हेरिने उल्लेख छ । २ जना चालक भए नभएको ट्राफिक प्रहरीको एप्सबाट हेर्नसक्ने ढकालको भनाइ छ । महाशाखाले सवारी साधनभित्र यात्रुले देखिने स्थानमा भाडा दररेट टाँस्न सम्पूर्ण सवारी चालकहरुलाई अनिवार्य गराएको छ ।

यस्तै मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड गर्ने, छतमा यात्रु तथा मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाइकासाथ कारबाही गरिने बताइएको छ । बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण सुरु गरिएको पनि महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा मापसे चेकिङमा कडाइ गर्दै उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सम्पूर्ण सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाका एसएसपी ढकालको भनाइ छ । महाशाखाका एसएसपी ढकालले थानकोट, नागढुङ्गा, जगते, फर्पिङ, बालाजुबाइपास र काठमाडौँबाट बाहिरिने सबै लामो दूरीका सवारी साधनहरुमा पनि चेकिङ हुने बताउनु भएको छ ।

महाशाखाले उपत्यका भित्रिने नाका, व्यपारीक क्षेत्रहरु भीडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन गरिने जनाएको छ । एसएसपी ढकालका अनुसार ४६ स्थानहरुमा नियमित ड्युटीका लागि २ सय ३० जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप एक सय ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको समेत एसएसपी ढकालले जानकारी दिनृभएको छ । दशैँ, तिहार तथा छठ पर्वमा सवारी चाप हुने काठमाडौँका मुख्य स्थानहरुमा डाइभर्सनको समेत व्यवस्था गरिने भएको छ । जस्तै न्यूरोड, भोटाहिटी, दरबारमार्ग, कालीमाटी, कलंकी, नयाँबसपार्क, गौशाला, चावहिल, कमलपोखरी, बानेश्वर, ठमेल, महाराजगञ्ज, बौद्ध, जोरपाटी, लगनखेल, मंगलबजार, भक्तपुर गुहेश्वरी, कमलपोखरी, बागमति नदीको किनार थापाथली, शंखमुल दोभान, बल्खु क्षेत्रमा सवारी साधन डाइभर्सन गरी पार्किङको समेत व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।