yubraj khatiwada.jpg

काठमाडौं —गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम स्थानिय सरकार, सङ्घीय सरकार र प्रदेश सरकारबीच आपसी समन्वय गरेर भइरहेको बताउनुभएको छ । पूर्वमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम पनि भइरहेको जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री डा. नविन्द्रराज जोशीले अहिले अर्थतन्त्रका केही सूचकहरु राम्रा भएता पनि विपन्न वर्गलाई सरकारले के ग¥यो, आम्दानी नै नहुने स्थिति छ, रोजगारी खोसिएको छ, अस्पताल गएर उपचार गराउनसक्ने अवस्थासम्म नभएकाहरुका लागि सरकारले के ग¥यो ? यसबाट कसरी बाहिर निस्कने भनेर चिन्तन र रणनीति खोइ ? भन्ने विषयमा सरकारको काम गराईप्रति औँला ठड्याउनु भएको छ ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक सङ्कट गहिरिँदै गएको र अर्थतन्त्र विरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोही अनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने सुझाव दिनुभएको छ । देशलाई अझै धनी बनाउनुपर्छ भनेर कोभिड–१९ ले देखायो । धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामर्थमा पुगे,’ उहाँले भन्नुभयो ‘हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो ।’अहिलेको संकटको बेला ठूला व्यवसायीले नाफा नकमाउदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै उहाँले साना र मझौला उद्योगलाई जोगाउन सरकारले दिल खोलेर सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सिप र भिजनको समुचित प्रयोग गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लगाउनुपर्ने बताउनुभएको छ ।स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले लकडाउनका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य रोजगारीका कारण सञ्चालनमा समेत ढिलाइ भएको जानकारी दिनुभएको छ ।

एसियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कुल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डभलपमेन्टका प्रा.डा. शोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकासका लक्ष्यमा अझ चुनौती थपिएको बताए । १७ वटा लक्ष्यमध्ये धेरैजसो पूरा भएको बताउनुभएको छ । कार्यक्रममा पूर्वराजदूत भीम उदास, महिला तथा बालबालिका मन्त्रालयका सचिव यमकुमारी खतिवडालगायतले कोभिड–१९ बाट सङ्कटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम चालेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।