dr kc23.jpg

काठमाडौं– चिकित्सा शिक्षाको सुधारका लागि पटक पटक आन्दोलन गर्दै आएका चिकित्सक डा. गोविन्द केसी र सरकारबीच सहमति जुटेको छ । डा. केसीले १९ औं पटकको आमरण अनसन बसेको आज २६ औं दिन हो । सरकारका तर्फबाट शिक्षा सचिवको संयोजकत्वमा गठित वार्ता टोली र डा. केसीको तर्फबाट बनेको वार्ता टोली बसेर सहमतिलाई औपचारिकता दिनेछ । सहमति भएसँगै डा.केसीले आजै अनसन तोड्ने तयारी छ ।

सरकारी वार्ता टोलिका संयोजक तथा शिक्षा सचिव गोपी मैनाली र अनसनरत डा. गोविन्द केसीको तर्फबाट वार्ताको नेतृत्व गर्नु भएका डा. जीवन क्षेत्री नेतृत्वको टोलीबीच हिजो बिहीबार नै दुई पटक वार्ता भै सहमतिको नजिक पुगिसकेका थिए । हिजो सहमति नजिक पुगेर पनि डा. केसीको ६ बुँदे मागको चौथो बुँदामा सहमति जुट्न नसक्दा वार्ता आजका लागि तय गरिएको थियो । आज दुबै पक्षले आन्तरिक छलफल गरेपछि सहमतिलाई अन्तिम रुप दिन तयार भएको स्रोतको भनाइ छ । मुख्यतः आजको सहमति विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको जनाइएको छ ।