काठमाडौं– सरकारले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेपछि मन्त्रालयको रिक्त सचिव पदमा भरतराज पौडेललाई बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठतम सह–सचिव पौडेललाई मन्त्रालयको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । शङ्करदास वैरागी अघिल्लो हप्ता मुख्य सचिवमा बढुवा भएपछि परराष्ट्र मन्त्रालयको सचिव खाली थियो ।

सचिव पदमा बढुवा भएका पौडेलले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतका रुपमा काम गरिसकेका छन् । सचिव बढुवा समितिले पौडेलसँगै सह–सचिवहरु सेवा लम्साल र कालीप्रसाद पोखरेलको नाम पनि सिफारिस गरेको थियो । यसैगरी मन्त्रालयको प्रवक्तामा सह–सचिव सेवा लम्साललाई जिम्मेवारी तोकिएको छ ।