photo climate change.jpg

काठमाडौं – जलवायु परिवर्तन आज विश्वको टाउको दुखाईको विषय बनेको छ । विकासको तिव्र गतिले गर्दा वातावरणीय क्षेत्रमा दूरगामी प्रभाव परेको छ । विशेषगरी अविकसित र विकासोन्मुख देशहरु जलवायु परिर्वतको चपेटामा परेका छन् । यसबाट उत्पन्न समस्यामा जकडिएका छन् । जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेकोे छ । जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम (क्लाइमेट भल्नरेवल फोरम)मा बिहीबार सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो तापमान, समुद्री सतहमा भएको वृद्धि, तापक्रम वृद्धिका कारण हिमनदीहरू पग्लनेजस्ता जलवायु परिवर्तनले देखाएको अस्तित्वगत खतराका कारण उच्च हिमाली सभ्यताको जीवन र जीविकामा गहिरो असर पारेको बताउनु भएको छ । विकसित देशका कारण नेपालले जलवायु परिवर्तनको प्रभावको सामना गर्नु परेको छ ।

प्रधानमन्त्री ओलीले नेपालको हिमनदीमा प्रतिकृल प्रभाव पारेको भन्दै विश्वव्यापी तापमानको वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न र यसको सही तथ्यलाई जलवायु परिवर्तनको दीर्घकालीन दिगो समाधानका लागि स्थापित गर्न सम्बन्धित सबै पक्षले विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ । प्रधानमन्त्री ओलीले पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै अर्को वर्ष कोप २६ सम्मेलनमा जलवायु कार्यसूचीलाई उच्च विश्वव्यापी राजनीतिक ‘एजेन्डा’ बनाउनुपर्ने आवश्यकताप्रति विशेष पहल गर्नु पर्ने बताउनु भएको छ । वर्तमानमा जलवायु सङ्कट ज्वलन्त समस्या बनेको भन्दै ठूला प्रदूषणकर्ताले मौनता तोडेर अघि बढ्नुपर्ने भन्दै कमजोर राष्ट्रको अस्तित्वको सवाल रहेकाले हरेक वर्ष हुने तापमापन वृद्धि र यसको घटबढको अंशले महत्व राख्ने प्रधानमन्त्री जिकिर समेत गर्नुुभयो । आर्थिक तथा सामाजिक रूपमा पिछडिएका देशहरुले जलवायु कार्ययोजना, जलवायु लगानी, सहज प्रविधिसँगै कार्यान्वयन, अनुकूलन कार्यक्रममा पहुँच पुग्नु जरुरी हुन्छ र त्यसका लागि अन्तर्राष्ट्रिय आवश्यक हुने प्रधानमन्त्रीको भनाइ छ ।

कोभिड–१९ को सङ्कटले यस वर्ष मानव जीवन र अर्थ व्यवस्थालाई नै तहसनहस पारेको भन्दै प्रधानमन्त्री ओलीले यो महामारी हरित, दिगो स्वास्थ्य र अर्थ व्यवस्थाका लागि अवसर हुन सक्ने बताउनु भएको छ  । कोभिड महामारीबाट पाठ सिकेर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तन साझा समस्या हो भन्ने आत्मबोध गरेर अगाघि बढ्नु पर्नेमा जोड दिनुभएको छ । अबको आवश्यकता जलवायु परिर्वतनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कार्ययोजनाका लागि सबै एकजुट हुनु पर्ने भन्दै सबैले यसलाई साझा समस्याको रुपमा आत्मसात् गर्न पनि आग्रह गर्नु भएको छ । जलवायु परिवर्तन मानव जातिसँग मात्र नभै प्रकृतिक अस्तित्वसँग पनि गाँसिएको ज्यादै महत्वपूर्ण विषय भएकाले सबैले यस तर्फ विशेष चासो दिनु आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । संयुक्त राष्ट्रसङ्घ महासभाको ७५ औं सत्रको संयोजनमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले गर्नु भएकोे थियो ।