ranipokhari 23.jpg

विगत वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण राजधानीकै मुटुमा रहेको रानीपोखरी नयाँ स्वरुपमा देखिएको छ । क्षतविक्षत हुन पुगेको रानीपोखरी पुनर्निर्माण गरेसँगै चर्चा हुन थालेको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएको छ भने रङ्गरोगनको काम पनि लगभग सकिएको छ । अहिले बत्ती जोड्ने र सरसफाई गर्ने काम भइरहेको छ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अब यो काम पनि केही दिनमै सकिने र पुनर्निर्मित रानीपोखरी उद्घाटनका लागि तयार हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका इञ्जिनियर राजुमान मानन्धरका अनुसार रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाटै गर्ने योजना छ । वि.सं. २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गर्नु भएको थियो ।

लामो समयको अलमल र विवाद पछि रानीपोखरीको जिर्णोदार गरी मल्लकालीन शैलीमा नै पुननिर्माण गरिएको छ ।
बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो । रानीपोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन विभिन्न माछाका भुरा पनि हालिने छ । अब जमलमै पुनर्निर्मित दरबार हाईस्कुल र रानीपोखरीको एकैपटक उद्घाटन गर्ने योजना छ । दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) पनि विनाशकारी भूकम्पले चिरा परेको थियो र राणाकालिन विद्यालयको अहिलेको स्वरुप चीनको सहयोगमा पुनर्निर्माण भएको हो ।