rhino 02.jpg

चितवन – विश्व प्रख्यात लोपोन्मुखको सूचीमा रहेको एकसिङ्गे पाइने मुख्य स्थाल चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको आकर्षणको मुख्य केन्द्रबिन्दु मानिन्छ । तर पछिल्लो समय चितवनमा गैंडाको मृत्यु हुने दर निकै बढेको छ । पछिल्लो समय संख्या बढेसँगै संरक्षणका लागि गैंडाको बासस्थान सुधार गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्ला वर्षहरूमा करोडौं रुपैयाँ खर्च गरेको छ । तर पछिल्ला ६ आर्थिक वर्षहरुमा चोरी सिकारीका कारण मर्ने गैंडाको सङ्ख्या करिब शून्य नै छ भन्दा हुन्छ । यद्यपि, पछिल्लो समय गैंडा एक आपसमा जुधेर, बाढीले बगाएर, प्राकृतिक कारण र अन्य कारणबाट १ सय ४५ वटा मरिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा भालेको आक्रमणबाट मरेको कम उमेरको पोथी गैंडा छन् । निरन्तर पछिल्ला चार आर्थिक वर्षमा २५ देखि ४३ वटासम्म गैंडा मरेको तथ्याङ्क राष्ट्रिय निकुञ्जसँग छ । गैंडा संरक्षणका नाममा जुन किसिमको खर्च भएको यसको सकारात्मक प्रभाव भने देखिएको छैन ।

यो आर्थिक वर्षको सुरुदेखिमा पनि राम्रो सङ्केत गरेको छैन । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी समेत रहेका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार गत साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा आइपुग्दा ८ वटा गैंडा मरिसकेका छन् । आर्थिक वर्ष २०६५/०६६ मा निकुञ्जमा प्राकृतिक कारणले मर्ने गैंडाको संख्या ८ थियो । त्यसपछि प्राकृतिक कारणले मर्ने गैंडाको संख्या निरन्तर उकालो लागेको छ । गैंडा गणनाको तथ्याङ्कअनुसार २०७२ सालमा चितवन राष्ट्रिय निकुञ्जमा सर्वाधिक ६ सय ५ वटा गैंडा थिए । त्यसपछि पनि प्राकृतिक कारणले वर्षमा १४ वटासम्म गैंडा मरे । चोरी सिकार शून्य नै भए पनि आ.व. २०७३/०७४ मा अन्य कारणले गैंडाको सङ्ख्या २० नाघ्न थालेको हो । यस वर्ष २५ वटा गैंडा मरेका थिए । आ.व. २०७४÷०७५ मा २६ र आ.व.२०७५/७६ मा अहिलेसम्मकै सर्वाधिक ४३ वटा गैंडा मरेका थिए ।यसैगरी गत आ.व. २०७६/०७७ मा पनि २६ वटा गैंडाको मृत्यु भए थियो । यहि गतिमा निकुञ्जमा गैंडा मर्नेक्रम बढ्दै गएमा संरक्षणका लागि गरिएको खर्च बालुवामा पानी जस्तै हुनेछ । निकुञ्जका अनुसार सर्वाधिक ४३ वटा गैंडा मरेको यस आ.व.मा साउनदेखि असोजसम्म ९ वटा गैंडा मरेका थिए । गत वर्ष भने यो संख्या जम्मा ३ थियो । विगतका वर्षहरूमा माघ, फागुनमा निकुञ्ज र आसपासका क्षेत्रमा मरेका गैंडा भेटिन्थे ।

चालु आ.व.को सुरुमै बाढीकै कारण ३ वटा गैंडा मरेको निकुञ्जले जनाएको छ । गैंडा निकुञ्जको पश्चिम क्षेत्र नारायणी नदी बरपरमा गैंडा बढी केन्द्रित भए देखिन थालेको र यसले जोखिम बढाएको छ । एकै क्षेत्रमा धेरै गैंडा हुँदा जुध्नेहुँदा घाउ चोट लागेर मर्ने खतरा पनि त्यति नै रहेको निकुञ्जको भनाइ छ । निकुञ्जको पश्चिम क्षेत्रमा नारायणी र राप्तीमा आउने बाढीले पनि असर गर्दछ । त्यसैले त्यस क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा गैंडालाई आकर्षित गर्नुपर्ने देखिएको उनको भनाइ छ । तर बासस्थल सुधारमा निकुञ्जले आवश्यकता अनुसार ध्यान दिन नसकेको हो कि भन्ने प्रश्न उढ्न थालेको छ । पछिल्ला दुई आ.व.मा यसका लागि करोडौं रुपैयाँ खर्च भएको छ ।

निकुञ्जले त्यस वर्ष मात्रै एक करोड ७६ लाख ७५ हजार रुपैयाँ खर्चेर ७१ वटा पोखरी र घोलको व्यवस्थापन गरेको थियो । त्यसैगरी २५ लाख रुपैयाँ खर्चेर घाँसे मैदान सुधार गरिएको निकुञ्जले बताएको छ । निकुञ्ज र आसपासको क्षेत्रमा गरेर एकै वर्ष सर्वाधिक ४३ वटा गैंडा मरेको वर्ष यी कामहरू भएका थिए । तर गएको वर्षमा पनि २६ वटा गैंडा मरे । बासस्थल सुधारका लागि धेरै काम भएको भनिए तापनि. आ.व.२०७४/०७५ र त्यसअघिको आ.व.मा पनि क्रमशः २६ र २५ वटा गैंडा मरेका थिए । निकुञ्जले गैंडाको बासस्थान स्थल सुधारको काम त गरेको छ । निकुञ्जका अनुसार गत आ.व.मा ६ सय हेक्टर नयाँ र ५ सय हेक्टर पुरानो घाँसे मैदान व्यवस्थापन गर्दा ३ करोड रुपैयाँ खर्च भएको थियो । चितवन राष्ट्रिय निकुञ्जले सुधारको गरिरहेको बताए तापनि गैंडा मर्ने सङ्ख्या खासै कमी देखिंदैन । गैंडा संरक्षणमा निकुञ्ज चुकेको देखिन्छ । पछिल्लो समय चोरी सिकारी पनि बढ्न थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बताउँछन् ।