kathmandu 02.jpg

काठमाडौं–मुलुकमा कोरोना भाइरस सङ्क्रमणको आगो दन्किएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा हिजो बिहीबारमात्र ठूलो सङ्ख्यामा सङ्क्रमितहरु भेटिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर परिक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण दिएको हो । यसलाई प्रतिशतमा राखेर हेर्दा २३ दशमलब २ प्रतिशत देखिन्छ । यसमध्ये एकै दिन काठमाडौं उपत्यकामा मात्रै २ हजार ५ सय ४० जना नयाँ सङ्क्रमित थपिए । हिजो सङ्क्रमित हुनेमध्ये उपत्यकाको हिस्सा ५८ दशमलब २० प्रतिशत देखिन्छ । यसरी हेर्दा उपत्यका उच्च जोखिममा छ । हिजो पुष्टिभएका नयाँ सङ्क्रमितमध्ये ३५.७६ महिला छन् भने बाँकी सबै पुरुषहरु हुन् । अहिलेसम्मकै तथ्याङ्क हेर्दा कोरोना भाइरसबाट सङ्क्रमित हुने महिलाको सङ्ख्या २९ प्रतिशत रहेको छ ।

देशभर परिक्षणको दायरा बढाउने हो भने कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ठूलो देखिन सक्ने चिकित्सकहरु बताउँछन् । उपत्यकामा बढी देखिनुको कारण परिक्षणको दायरा बढाएकोले बाहिरको तुलनामा यहाँ बढि देखिएको उनीहरुको बनाइ छ । उपत्यकामा मात्रै १ सय ८३ जनाले कोरोना भाइरसको सङ्क्रमणका काराण ज्यान गुमाइसकेका छन् । यो तथ्याङ्क हेर्दा ३१ दशमलब ०१ प्रतिशत देखिन्छ । यो डरलाग्दो अवस्थाको सङ्केत हो । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं उच्च जोखिममा रहेको छ । जहाँ १ सय २४ जनाले ज्यान गुमाइ सकेको छन् । देशभर अहिले सक्रिय सङ्क्रमितको संख्या २६ हजार ६ सय ८४ नाघिसकेको छ । चाडबाड नजिए सँगै पारिवारिक भेटघाट हुने र भाइरसको सङ्क्रमणले झन उग्ररुप लिन सक्ने देखिन्छ । सावधानी अपनाए पनि सङ्क्रमण कसरी, कुन अवस्था र कहाँबाट सर्यो भन्न सकिन्न । रोग नियन्त्रणमा सरकारको प्रयासले भन्दा पनि नागरिक स्वयम सचेत हुनु पर्ने अवस्था छ ।