morang police bit.png

काठमाडौँ– कोरोना महामारीसँगै नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा योजना तयार पारेको छ ।
मोरङ प्रहरी प्रमुख सन्तोस खड्काका अनुसार दशैं–तिहारमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना तयार पारेको हो । प्रहरी उपरीक्षक खड्काले सुरक्षा योजनालाई प्रभावकारी बनाउनका लागि आफै व्यवस्थापनमा खटिने जानकारी दिनुभयो ।

खड्काका अनुसार धार्मिक तीर्थस्थल, मठ मन्दिर लगायतमा भक्तजनहरुलाई सामाजिक दूरी कायम गरी सुरक्षा व्यवस्था मिलाउन निगरानी बढाइने छ । त्यसैगरी भीडभाड हुने स्थानमा चोरी, डकैती र लुटपाटका घटना हुन नदिन प्रहरी चनाखो रहेको खड्का बताउनु हुन्छ ।

उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा व्यवस्थामा कुनै कमि हुन नदिने तयारी गर्दै होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।
शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधिको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन नियन्त्रण, सीमा क्षेत्रमा कडाई, मदिराको ओसारपसार, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान प्रहरीको प्राथमिकतामा परेको उहाँको भनाई छ ।

सवारी आवागमनलाई व्यवस्थित रुपमा सुचारु राख्ने र आकस्मिक एवं संयुक्त चेकजाँच गरिने उहाँले बताउनु भयो । प्रहरीले मादकपदार्थ सेवनगरी सवारीसाधन चलाउन पूर्णरुपमा रोक लगाएको छ । महिला ,बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराधको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिने भएको छ ।
विराटनगर क्षेत्रभित्र रहेका १४ वटा महत्वपूर्ण प्रतिष्ठानमा २४ घण्टा सुरक्षा प्रदान गर्न थालिएको जानकारी समेत उहाँले दिनु भयो । प्रतिष्ठान सुरक्षाका लागि मात्रै ९६ जना प्रहरी खटाइएको छ ।

चाडपर्वमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासँग समन्वय गरेर अत्यावश्यक सेवाका साधनहरु एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिने भएको छ ।मोरङमा १ हजार २ सय ३३ प्रहरी चाडपर्व सुरक्षाका लागि आवश्यक पर्ने देखिएको छ । ९ सय ६० जना जिल्लाभित्रबाटै खटाउन सकिने र थप २ सय ७३ जना माथिल्लो कार्यालयबाट माग गरिएको छ ।