११ असोज, बुटवल । अर्घाखाँचीस्थित शितङ्गगा नगरपालिकाको डुङ्गेसेरामा डाँडो भासिंदा ६ घर भत्किनुका साथै २० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । अविरल परेको पानीले गर्दा उक्त डाँडो भासिन पुगेको थियो ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरो जाँदा नगरपालिकाको वडा नंं. ११ को डुङ्गेसेरामा रहेको बस्ती भासिन गएको हो । यद्यपि, उक्त स्थानका घरहरु भत्किए पनि मानवीय क्षति भने नभएको वडा अध्यक्ष कपिल आलेमगरले जानकारी दिनुभयो । वडाध्यक्ष आलेमगरका अनुसार पहिरोले बस्ति रहेको डाँडो नै भासिंदा ६ घर पूर्णरुपमा भत्किएका छन् । अहिलेसम्म के कति मानवीय क्षति भएको छ, सो को जानकारी आएको छैन । उक्त स्थिनमा पहिरो जाने क्रम जारी छ ।

यसैक्रममा सोही नगरपालिका वडा नं. १२ मा पर्ने ढुंगेशेरा गाउँ पनि पहिरोको चपेटामा परेको छ । उक्त क्षेत्रमा जमिन भासिँदा जोख्ले गैरा, पहरेपानी र बतासे टोलका ४७ घर परिवार पूर्णरुपमा विस्थापित भैसकेका छन् । ४७ घरमध्ये १७ घर काम नलाग्ने गरी भासिएका हुन् भने बाँकी उच्च जोखिमका कारण विस्थापित भएका छन् । विस्तापित ४७ परिवारलाई हाल कोठिया मैदानको गौरा माध्यमिक विद्यालयमा अस्थायी व्यवस्थापन गरिएको स्थानीय प्रहरी कार्यालयले जनाएको छ ।