काठमाडौं । सरकारले गत सातादेखि निषेधाज्ञा हटाएपछि नेपालको खेलकुद पनि लयमा फर्कन्छ कि भन्नेमा खेलाडीहरु आशावादी छन् । राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् परिषदको प्राङ्गणमा रहेको कर्भड हलमा ब्याडमिन्टन खेलाडीहरुले आफ्नो अभ्यास खेलको सुरुवात गरेका छन् । कोभिड–१९ ले थिलिएको खेलकुद क्षेत्रले कोरोना कहरबीच सुरक्षाको उपाय अपनाएर विस्तारै गति लिने प्रयास गर्दै छ ।

लामो समयदेखि मैदानमा उत्रिन नपाएका खेलाडीहरु अभ्यासमा फर्किन पाउँदा उत्साहित देखिएका छन् । तर कभर्ड हलको अवस्था भने खेलाडीहरुले सोचे जस्तो छैन । एकातिर मर्मत हुन थालेको कभर्डहलको दुर्दसा हेर्दा खेलाडीहरुमा निराशा देखिन्थ्यो । तर अभ्यासका लागि मैदानमा उत्रिएका खेलाडीहरुले आफुलाई खेलमा फर्कनका लागि कभर्डहललाई आफैले सफा गर्न तम्सिए र सरसफाईमा लाग्दा परिषद् स्वयम बेखबर थियो ।

नियमित अभ्यास गर्ने सपना बोकेर बिहानै कभर्डहल छिरेका ब्याडमिन्टनका केही खेलाडी कोरियन प्रशिक्षक चोई सिउन कुक सँगै वार्मअप गरिरहेका थिए । तर कभर्डहल भित्र पस्दा वातावरण भने निकै फरक थियो । खेलाडीहरु बाल्टिनमा पानी, हातमा झारु र ब्रसले परेवाले विष्टाएको फोहोर सफा गर्न व्यस्त थिए ।

खेलाडी अभ्यासमा फर्किन पाउनु पनि सकारात्मक विषय हो । नेपाल ब्याडमिन्टन संघ पनि अभ्यासमा फर्काउन पाउँदा खुसी देखिएको छ । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पालना गर्न सबै खेलाडी तयार छन् । आइतबारबाट अभ्यासमा फकिर्न संघले जानकारी गराएर अनुमति पाए पनि वातावारण भने खेलाडीमैत्री हुनु सकेको छैन ।

नेपालमा खेलकुदका पूर्वाधार न्यून र सिमित छन् । एउटै स्थलमा धेरै प्रतियोगिता गर्नुपर्ने वाध्यता छ । तर पनि सिमित पूर्वाधारलाई सही तरिकाले संरक्षण र उपभोग गर्ने वातावरण नहुनु दुखद् पक्ष हो । राष्ट्रका लागि खेल्ने खेलाडीलाई उचित वातावरणबाट खेलमा फर्काउन सरोकार निकायहरुले ध्यान दिनु आवश्यक छ ।