deepika-padukone-shraddha-kapoor-sara-ali-khan-ncb.jpg

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकाहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको बताएको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल जफत गरिएको थियो । तर, उनिहरुको फोन लिस्ट जाँच गर्ने क्रममा तीन नायिकाहरुको अवैध रुपमा ड्रग्सको धन्दा गर्ने गिरोहसँग कुनै पनि कनेक्शन नरहेको पुष्टी भएको छ ।

एनसीबीसँगको सोधपुछ र बयानका क्रममा तीनै जना नायिकाहरुले आफूहरुले ड्रग्सको सेवन नगरेको बताएका थिए । भारतीय मिडियाका अनुसार, छानविनको क्रममा कुनै बलियो प्रमाण भेटिएको खण्डमा मात्र यी तीन नायिकाहरुसँग एनसीबीले सोधपुछ गर्नेछ ।

एनसीबीले नायिका दीपिका पादुकोणलाई म्यानेजर करिश्मा प्रकाशसँगको च्याटको बिषयमा सोधपुछ गरेको थियो । दीपिकाले आफूले चुरोटको बिषयमा कुरा गरेको तर ड्रग्स सेवन नगरेको बताएकी थिइन् । त्यसै गरी, नायिका श्रद्धा कपुरसँग भारतमा प्रतिवन्धित सीबीडी ओइलको बिषयमा सोधिएको थियो । श्रद्धाले उक्त प्रतिबन्धित ओइल व्यक्तिगत प्रयोजनका लागि नभई मेडिकल प्रयोजनका लागि मगाएको बताएकी थिइन् ।

एनसीबीले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका धेरै कलाकारलाई ड्रग्सको छानबिनको दायरामा ल्याएको हो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई पनि ड्रग्सकै मुद्दामा जेलमा राखेर एनसीबीले सोधपुछ गरिरहेको छ । रियालाई अक्टुबर ६ तारिखसम्म जेलमा राख्न अदालतले आदेश दिएको छ ।