पार्टी भित्रको आन्तरिक कलहको कारण नेपाली कांग्रेस रुग्ण बन्दै गएको छ । मुख्यतः शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेपछि कांग्रेसले देशको राजनीतिमा निरन्तर आफ्नो पकड गुमाउँदै गएको छ । केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो पकड गुमाएको कांगेसलाई पुरानो विरासतमा फर्काउन नयाँ नेतृत्वको आवश्यकता देखिन्छ । कोइराला खेमाको हिजोको संस्थापन पक्षको विराशत स्खलित भए पछि शेरबहादुर देउवा पार्टीको सभापति पद हत्याउन सफल भएसँगै पार्टी भित्र गुटवन्दीले संस्थागत रुप लिएको देखिन्छ । हिजोको संस्थापन कोइराला पक्षले आफु इतर पक्षलाई निषेध गर्ने प्रवृत्ति मौलाउँदा पार्टीले विखण्डन भोग्नु प¥यो । शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नेपाली कांग्रेस(प्रजातन्त्रवादी) गठन गरेपछि कांग्रेसमा विग्रह सुरु भयो र दाउपेजको राजनीति संस्थागत हुन पुगेको हो । जब १३ औं महाधिवेशन पछि शेरबहादुर देउवाले पार्टीको नेतृत्वको गरे, त्यसपछि हिजोको संस्थापन पक्षलाई अर्थात् अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरुलाई पेलेर भित्तामा पु¥याउने काम भयो छ । देउवा नेतृत्वमा आए पछि नेपाली कांग्रेस निरन्तर ओरालो लाग्नुको मुख्य कारण पार्टीभित्र मौलाउँदो गुट उपगुटले कांग्रेसले देशको राजनीतिबाट हात गुमाउँदै गयो । यसको दुष्परिणाम सङ्घीय प्रदेश र स्थानीय चुनावको परिणामले देखायो । आन्तरिक कलहमा जकडिएको कांग्रेस पुरानो संस्थापन पक्ष (कोइराला खेमा) सभापति देउवाको पार्टी सञ्चालनको रवैया प्रति आक्रमक रुपले रामचन्द्र पौडेल नेतृत्वमा कोइराला खेमा लाग्दा पार्टी भित्र ठूलै रडाँको मच्चियो । यसले गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा आफ्नो उपस्थिति देखाउन सकेको छैन । संसदमा दह्रो प्रतिपक्षी नहुँदाको अवस्थामा सरकारले पनि अपेक्षाकृत काम गर्न सकेको देखिंदैन । यदि संसदमा प्रतिपक्षी दलको दह्रो प्रस्तुति हुन्थ्यो भने नेकपा नेतृत्वको सरकारको काम गर्ने शैलीले चुस्तता पाउन सक्थ्यो । स्थानीय र प्रादेशिक निर्वाचनको बेलामा तात्कालीन माओवादी र सङ्घीय निर्वाचानको बेला राष्ट्रिय प्रजातन्त्र पार्टीसंगको साँठगाँठ गर्नु पनि कांग्रेसको लागि अभिशाप भएको देखिन्छ । नेपाली कांग्रेससँग कुनै राजनीतिक एजेण्डा छैन । जुन दिन कांग्रेस हिन्दुराष्ट्र बहुदलीय व्यवस्था र संवैधानिक राजनन्त्रको आफ्नो एजेण्डा छोडेर गणतन्त्र र धर्मनिपेक्षामा लाग्यो त्यो दिन देखि कांग्रेसले नेपाली राजनीतिबाट आफ्नो पकड गुमाउँदै गयो । यसलाई अब नयाँ सिराबाट ब्युताउन ठूलै कसरत गर्नु पर्ने छ र नयाँ एजेण्डा तय गर्नुको विकल्प छैन । हिजो नेपाली कांग्रेस सरकारमा हुँदा भएको लाउडा काण्डमा तात्कालीन प्रतिपक्षी एमालेले ५७ दिनसम्म संसद अवरुद्ध गराएको थियो । तर नेपाली कांग्रेसले एयरबस खरिद प्रकरणमा चुइक्क बोल्न सकेन, ३३ किलो सुनको बारेमा किन स्पष्ट दृष्टिकोण संसदमा प्रस्तुत गर्न सकेन ? किन निर्मला हत्याकाण्डको छानविनको सम्बन्धमा संसद अवरुद्ध गर्न सकेन ? नेपाल ट्रस्टको जग्गा भाडा प्रकरणमा किन कांग्रेस मौन छ ? माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला भएको ललिता निवास जग्गा प्रकरणमा किन कांग्रेस मौन ? सरकारी जग्गामा मोहीयानी हक लाग्दैन । तर उक्त जग्गामा मोहियानी हक कायम गराएर क्याविनेटले स्वीकृत गरेको बारेमा किन प्रतिपक्षी दल मौन ? कांग्रसले अहिले उठाउनु पर्ने धेरै मुद्दाहरु छन्, राष्ट्र राष्ट्रियाताका विषयमा । लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत भारतबाट अतिक्रमित सीमा अतिक्रमको बारेमा कांग्रेसले आवाज उठाउन सकेन । संसद प्रतिपक्षी दलको भन्ने गरिन्छ, तर संसद्मा प्रतिपक्षी दलको भूमिका निभाउन सकेको छैन । यस्तै पाराले आगामी निर्वाचनमा कांग्रेस के एजेण्डा लिएर जान्छ अब ? अहिले कांग्रेस राष्ट्रिय एजेण्डा विमुख मात्र होइन राष्ट्रिय राजनीतिबाट नै छायाँमा परेको छ । यसको मुख्य कारण पार्टी नेतृत्वको असक्षमता र पार्टी भित्र मौलाउँदो गुटबन्दी नै प्रमुख हो । तेह्रौं महाधिवेशनले गरेका निर्णयहरु थाँति नै छन् । पार्टी भित्रको प्रतिपक्ष रामचन्द्र पौडेल खेमालाई पेलेर जाने सभापति देउवाको रणनीतिले कांग्रेसको खास खस्केको हो । आगामी २०७७ साल फागुन ७ देखि १० गतेसम्म हुने भनिएको १४ औं महाधिवेशमा नेतृत्वका लागि ठूलो रस्साकस्सी हुनेछ । शेरबहादुर देउवा पुनः आफुलाई सभापति पदमा निर्वाचित हुने वातावरण बनाउँदै छन् । देउवा खेमा जसरी पनि पौडेल पक्षधरहरुलाई पाखा लगाउने रणनीतिमा देखिन्छ । कांग्रेस भित्रको झगडा भुसको आगो जस्तै भएको छ । दुई खेमामा विभाजित कांग्रेसभित्र अहिले धेरै गुट उपगुटहरु एजेण्डा र कार्यदिशा नहुँदा कांग्रेस कार्यकर्ताहरु कुहिरोको काग बनेका छन् । स्वयम पार्टी नेतृत्व पनि दोसाँधमा रुमलिएको देखिन्छ । शक्ति क्षयीकरण भएको कांग्रेसलाई पुनर्ताजगी बनाउन अब नेतृत्वलाई फलामको च्युरा सावित हुनेछ । अब नेपाली कांग्रेसले तय गर्ने बाटो के हो ? उसको राजनीति र पार्टीको एजेण्डा के हो स्पष्ट हुन जरुरी छ । अन्यथा आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई तिहाइ नल्याउला भन्न सकिन्न । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाइ मत ल्याउने उद्घोष गरिसकेका छन् । प्रतिपक्षी दलको भूमिका प्रतिको विश्लेषणबाट प्रधानमन्त्री ओलीले यसो भनेका हुन भन्दा अत्युक्ति नहोला ।


nepalicongress-1596940066.jpg