रसुवा, मङ्सिर ३ गते । नेपाल एकीकरण अभियानसँग जोडिएको रसुवाको उत्तरगया गाउँपालिका–५ माझगाउँस्थित ऐतिहासिक पौवाघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । विसं २०७२ को गोरखा भूकम्पपछि थप जोखिममा परेको यस सम्पदाको समयमै मर्मत तथा सम्भार हुन नसक्दा ऐतिहासिक अस्तित्व नै मेटिने चिन्ता बढेको हो ।
गोसाइँकुण्ड तीर्थयात्राको पुरानो पदमार्गमा पर्ने यो पौवाघर लामो समयदेखि बेवारिसे जस्तै बनेको स्थानीयवासीको गुनासो छ । ऐतिहासिक महत्व बोकेको संरचना भत्किने अवस्थामा पुग्दा पनि सरोकारवाला निकायको पर्याप्त ध्यान नपुगेको स्थानीय अगुवा बताउँछन् ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले ऐतिहासिक आस्था र पहिचान बोकेको यस धरोहरलाई जीवन्त राख्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । वडा नं ५ का वडाध्यक्ष यमनाथ आचार्यले सीमित स्रोत र साधनका बीच सम्पदा संरक्षणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
ऐतिहासिक दस्तावेज तथा स्थानीय किंवदन्तीअनुसार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा युद्धमा विजय प्राप्तिको कामनासहित धैबुङमा बस्ने सिद्ध योगी अगस्तिबाट खड्गसिद्धि प्राप्त गर्नुभएको थियो । सोही उपलब्धिका लागि कृतज्ञतास्वरूप शाहले अगस्तिलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीका रूपमा बिर्ता दिनुभएको इतिहास छ ।
सिद्ध योगी अगस्तिले आफ्नी धर्मचेली गौरादेवीलाई उक्त भूमि कुश बिर्ता प्रदान गर्नुभएको थियो । गौरादेवीले बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजापाठ गर्ने र बेत्रावतीको माथिल्लो भाग माझगाउँमा पौवाघर बनाई गोसाइँकुण्ड आउजाउ गर्ने तीर्थयात्रीलाई सातु–सामल तथा बासको व्यवस्था मिलाउने सर्तमा उक्त गुठी प्राप्त गर्नुभएको थियो ।
सोही समयमा डाँडाको लहरैमा तीनवटा पौवाघर निर्माण गरी तीर्थालुलाई सेवा दिइएकाले यस बस्तीको नाम ‘लहरै पौवा’ रहन गएको र पछि अपभ्रंश हुँदै ‘लहरेपौवा’ भन्न थालिएको स्थानीय बताउँछन् ।
धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र तीर्थाटन परम्पराको जीवन्त इतिहास बोकेको यस सम्पदाको मौलिक स्वरूप नबिग्रने गरी पुनर्निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा पनि टेवा पुग्ने देखिन्छ । भावी पुस्तालाई गौरवशाली इतिहास हस्तान्तरण गर्न राज्य, स्थानीय तह र समुदायको सहकार्यमा यसको तत्काल संरक्षण गर्न आवश्यक रहेको सरोकारवालाको जोड छ ।





