मकवानपुर, साउन २० गते । मकवानपुर जिल्लास्थिा हेटौँडा उपमहानगरपालिकाले यही साउन महिनाभित्रै शून्य फोहर महाअभियान सुरु गर्ने भएको छ । उक्त कुराको जानकारी सोउपमहानगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले जानकारी दिनुभएको हो ।
बागमती प्रदेशको राजधानीका रुपमा रहेको मकवानपुरस्थित उक्त उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई ‘पर्यटन वर्ष’ घोषणा गरेकाले त्यस पक्षलाई दृष्टिगत गरी शून्य फोहर महाअभियान सुरु गर्न लागिएको महाशाखाका प्रमुख अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले उपमहानगरपालिका क्षेत्रभित्रका सरकारी, निजी सबै सङ्घ संस्था, कार्यालय, विद्यालय, टोल विकास संस्थाहरूमा सूचना तथा पत्राचार गरी यही साउन २२ गते बिहान ९:०० बजेदेखि १०:०० बजेसम्म आ–आफ्नो कार्यालय क्षेत्र परिसर सरसफाइ गरी महाअभियानलाई सफल पार्न अनुरोध गरेका छौँ ।”




