काठमाडौँ, साउन २० गते । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ । पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

यसैगरी प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउलाई पक्राउ गरेको छ ।
लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्न लागुऔषधसहित विभिन्न स्थानबाट १६ व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको हो ।

नाम पत्ता लगाउन बाँकी रहेका १८ वर्षीय किशोरलाई रोल्पा, माडी गाउँपालिका–२ घर्तीगाउँ बाट ४० मिलिग्राम, कैलाली, धनगढी उपमहानगरपालिका–२ विशालनगरबाट ९४ मिलिग्रामसहित दुई जना क्रमशः योगेश पाल र सुवास हमाल, कैलाली, टीकापुर नगरपालिका–१ खडकचोकबाट ६७० मिलिग्रामसहित मिन रावल, पाँचथर, फिदिम नगरपालिका–१ बरडाँडाबाट ४० मिलिग्रामसहित निराजन खतिवडालाई लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो ।

 त्यसैगरी, कञ्चनपुर, बेलौरी नगरपालिका–१ खल्ला पिपल चौताराबाट  ५५० मिलिग्रामसहित  निशान्त तामाङ, बाँके, बैजनाथ गाउँपालिका–१ बाट ७३० मिलिग्राम र नगद रु ३६ हजार ९६५ सहित नाम खुल्न नसकेको १८ वर्षीय किशोर मङ्गलबार पक्राउ परेका हुन् ।  

त्यस्तै चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न मिल्ने स्पास्मो २४० ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट र स्पास्मो १५० ट्याब्लेट सहित बीर्खबहादुर नेपाली र कृष्ण लुहारलाई क्रमशः धनगढी उपमहानगरपालिक–३, सुर्खेत सिम्ता गाउँपालिक–६ रामकोट, मोरङ, बेलबारी नगरपलिका–१ सिसौलीबाट ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेटसहित विकास रौनियारलाई मङ्गलबार पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षले चितवन, रत्ननगर नगरपालिका–७ लौखानीबाट अवैध लागुऔषध ५०० ग्राम गाँजा र नगद रु एक लाख २९ हजार ५२५ सहित दीपक महतो र निजका छोरा राहुल महतोलाई मङ्गलबार पक्राउ गरिएको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइन्छ ।