कास्की, असार १० गते । कास्की जिल्लास्थित पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख मञ्जुदेवी गुरुङले १९औँ नगर सभामा उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।
समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने साझा लक्ष्यसहित प्रस्तुत गरिएको पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ५५ दशमलव १ प्रतिशत र पुँजीगत खर्चतर्फ ४४ दशमलव ९ प्रतिशत छुट्याएको छ । महानगरले सार्वजनिक गरेको बजेट अनुसार आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको विनियोजित बजेट ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको तुलनामा कम रहेको छ ।
बजेटको स्रोत व्यवस्थापनका लागि सङ्घीय सरकारको वित्तीय हस्तान्तरणबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ, जसमा ससर्त, विशेष, पूरक र समानीकरण अनुदानहरू समावेश छन् । गण्डकी प्रदेश सरकारको वित्तीय हस्तान्तरणतर्फ ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण छ । महानगरले आगामी वर्ष आन्तरिक र अन्य स्रोतहरूबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ सङकलन गर्ने लक्ष्य लिएको देखिन्छ ।
यसैगरी राजस्व बाँडफाँट र अन्य आन्तरिक आयसमेत गरी कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने महानगरले अनुमान गरेको छ ।
पोखरा महानगरपालिकाले ले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको खर्च र आम्दानीको समीक्षा समेत सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेटमध्ये जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत मात्र खर्च भएको छ । चालु खर्चतर्फ विनियोजित रकममध्ये ६१ दशमलव ७ प्रतिशत खर्च भएको भए तापनि पुँजीगत अर्थात् विकास खर्चतर्फको प्रगति भने न्यून रहेको छ । पुँजीगततर्फ विनियोजित रकममध्ये जेठ मसान्तसम्म जम्मा २४ दशमलव २ प्रतिशत मात्र खर्च भएको छ भने आन्तरिक आयतर्फ पनि लक्ष्यको ४६ दशमलव ०२ प्रतिशत मात्र सङकलन भएको महानगरले जनाएको छ ।




