काठमाडौँ, असार १ गते । चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन अघि नै अन्तरराष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ । नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ ले पनि लगातार अन्तरराष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवर्द्धनलाई जोड दिएको छ । उक्त चलचित्रको निर्देशन तथा कथा लेखन माओत्से गुरुङले गर्नुभएको हो । उहाँका अनुसार चलचित्रको प्रदर्शन मिति सार्वजनिक हुनु अघि नै बेलायत र हङ्कङ्का प्रदर्शन अधिकार बिक्री भइसकेका छन् ।

बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको उहाँले जानकारी दिनुभयो । त्यसको निरन्तरता स्वरूप अहिले चलचित्रको अष्ट्रेलिया र न्यूजिल्यान्ड प्रदर्शन अधिकारसमेत बिक्री भएको उहाँले बताउनुभयो ।

दि ब्याक ईभेन्ट्सले अष्ट्रेलिया र न्यूजिल्याण्डको लागि प्रदर्शन अधिकार खरिद गरेको हो । यससँगै ‘पेन्सन पट्टा’ ले प्रदर्शनअघि नै विभिन्न अन्तरराष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ ।

यसअघि माओत्से गुरुङले निर्माण गरेका ‘पुरानो डुङगा’ र ‘दयारानी’ ले स्वदेशसँगै विदेशमा पनि राम्रो चर्चा बटुलेका थिए । त्यसैले ‘पेन्सन पट्टा’ प्रति विदेशी वितरक तथा नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्देशक गुरुङको विश्वास छ ।

चलचित्रको कथा खुदी खोलाको किनारमा रहेको सुकुमवासी बस्तीमा बस्ने आमा–छोरा छलु र राजनको जीवन सङ्घर्षमा केन्द्रित छ । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, वुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।