दाङ, जेठ १८ गते । तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चवर्षे आवधिक विकास योजना निर्माण थालेको छ । यसअघि पहिलो पञ्चवर्षीय योजना आर्थिक वर्ष २०८२/८३ मा सकिएकाले दोस्रो पञ्चवर्षीय योजना बनाउन लागिएको हो ।
उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाका पाँच शाखा तथा सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । त्यस क्रममा विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले एक वडा, एक पार्क, मुहान सुकाउने बिरुवा विस्थापन, स्थानीय उद्योगीलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, आर्थिक विकास शाखाअन्तर्गत घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले स्थानीय उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने, कालोबजारी ऐन संशोधन गर्नुपर्नेजस्ता सुझाव दिनुभएको थियो । कृषि तथा पशुपन्छी समितिको तर्फबाट पशु शाखा प्रमुख डा मनोज वलीले कौशीखेती कार्यक्रम, कृषक सञ्जाल कार्यक्रम, इन्डोर एग्रिकल्चरजस्ता कुराहरू थप गरिएको भन्दै यसले कृषि क्षेत्रलाई प्रभावकारी बनाउने बताउनुभयो ।
शिक्षा शाखा प्रमुख चक्र भण्डारीले राष्ट्रिय खेलाडीलाई प्रोत्साहन, उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न कोष निर्माण गर्ने कुरा सकारात्मक रहेको बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठले वडावडामा महिला सेल बनाउने, महिला उद्यमीको तथ्याङ्क सङ्कलन गर्नेजस्ता कार्यक्रम हुनुपर्ने बताउनुभयो ।
त्यस्तै, सुशासन समितिको तर्फबाट अधिकृत शिवकुमार शर्माले ‘हेलो जनता’ कार्यक्रम, ‘जनताको कर, जनतालाई खबर’ कार्यक्रम पनि प्रभावकारी हुने बताउनुभयो । पूर्वाधार विकास समितिको तर्फबाट इन्जिनियर श्रीनारायण चौधरीले टुक्रे योजनाभन्दा पनि ठूला योजनालाई प्रथमिकता दिनुपर्ने बताउनुभयो । साना योजना हुँदा बजेट खर्च हुने तर, उपलब्धि नदेखिने उहाँले बताउनुभयो ।
त्यस अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा नहकुल केसीले योजना बनाएरमात्रै नहुने बताउनुभयो । उहाँले कार्यान्वयन नै महत्त्वपूर्ण पाटो रहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्घीय सरकारसँग टरिगाउँ एयरपोर्टलाई विस्तार गर्न पहल गर्ने, तुलसीपुरमा चक्रपथ निर्माण गरी नगरबस सञ्चालन गर्ने, दङ्गीशरण राजा बसेको स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, चमेरे गुफालाई पर्यटनको केन्द्र बनाउने, मानव इतिहास बोकेको फूलबारीलाई पर्यटनका रूपमा विकास गर्ने, जलाशय निर्माण गरी सिँचाइ व्यवस्थापन गर्ने, नगरस्तरीय मेघा अस्पताललाई व्यवस्थित बनाउने योजना रहेको बताउनुभयो । हाल उक्त मस्यौदामाथि छलफल भएर सुझाव सङ्कलन गरिएको भन्दै त्यसलाई केही समयपछि अन्तिम रुप दिने तयारी रहेको समेत नगरप्रमुख खड्काले बताउनुभयो ।




