चितवन, जेठ १५ गते । गणतन्त्र दिवसका अवसरमा आज चितवनको माडीमा ‘माडी मौलिक सांस्कृतिक उत्सव’ आयोजना गरिएको छ । माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा भएको उत्सवले आज वसन्तपुर बजारलाई सांस्कृतिकमय बनाएको हो ।
विभिन्न जातजाति तथा संस्थाहरूको पहिचान झल्किने सांस्कृतिक झाँकीसहितको शोभायात्रा वसन्तपुर बजारमा पुगेपछि उत्सवमा परिणत भएको थियो । उत्सवको उद्घाटन माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले गर्दै गणतन्त्र स्थापना तथा देशमा सुशासन कायम गर्न आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
प्रमुख महतोले यस्ता सांस्कृतिक उत्सवले माडीलाई सिकाइ केन्द्रका रूपमा विकास गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रकारका उत्सव पुस्तान्तरणका माध्यम पनि हुन् । यस वर्ष हामीले आफ्नो संस्कृति, संस्कार, मौलिक भाषा, धर्म र पहिचानलाई एकै ठाउँमा प्रस्तुत गर्दै गणतन्त्र दिवस मनाएका छौँ । आज अग्रजहरूले प्रस्तुत गर्नुभएका मौलिक संस्कृतिहरू पछिल्लो पुस्ताका लागि सिकाइको आधार बन्नेछन् ।” उहाँले नगरपालिकाले मौलिक संस्कृतिलाई संरक्षण गर्दै पुस्तान्तरणका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकोटाले मौलिक पर्व तथा संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीज, जितिया, न्वागीलगायत मौलिक पर्वहरू हराउँदै गए नेपालीपन र राष्ट्रियता कमजोर हुने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय एकतालाई मजबुत बनाउन तथा संस्कृति संरक्षण गर्दै सुन्दर नेपाल निर्माण गर्न सांस्कृतिक एकता अपरिहार्य छ ।”
सापकोटाले घरघरबाट संस्कृति संरक्षणको अभियान सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै माडी विविधता र मौलिक पहिचानले भरिपूर्ण भूमि भएको उल्लेख गर्नुभयो । उहाँले यहाँ सञ्चालन भइरहेको पहिचानसहितको घरबास अवधारणाले माडीको पहिचान बाहिरसम्म फैलिन सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा माडी क्षेत्रका विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, स्थानीय रैथाने खानाका स्टल तथा झाँकी प्रदर्शन गरिएको छ । उत्सव कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षा अधिकारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता छ । आयोजकका अनुसार उत्सव आज राति १०:०० बजेसम्म सञ्चालन हुनेछ ।




