चितवन, जेठ ११ गते । चितवनका मुख्य सडकका जोखिमयुक्त चोक तथा क्षेत्रमा सडक सुरक्षा बढाउन ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर, टाँडी, पर्सा बजारलगायतका स्थानमा सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट जडान गरिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार भरतपुर बाइपास रोडस्थित मालपोत चोक तथा प्रहरी तालिम केन्द्र चोक र चौबिसकोठीमा स्प्रिङ पोस्ट जडान गरिएको छ । रत्ननगरको टाँडी बजार र खैरहनीको पर्सा बजारको मुख्य राजमार्ग क्षेत्रमा पनि जडान गरिएको छ ।

सडक डिभिजनअन्तर्गत जिल्लामा पहिलोपटक यस्ता पोस्ट जडान गरिएको सूचना अधिकारी आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिमयुक्त चोकहरूमा जथाभावी गाडी क्रसिङ गर्दा दुर्घटना नहोस् भन्ने उद्देश्यले यो जडान गरिएको हो ।”

विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा पोस्ट राखिएको बताउँदै सूचना अधिकारी आचार्यले सम्पूर्ण सवारीचालकलाई लेन अनुशासन पालना गर्न तथा निर्धारित गति सीमाभित्र रहेर सवारी चलाउन आग्रह गर्नुभयो । रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट रातिको समयमा स्पष्ट देखिने भएकाले सडक सुरक्षामा प्रभावकारी हुनेछ । सवारीसाधन ठोक्किए लचिलो हुने भएकाले यसबाट मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । यस प्रकारका पोस्ट जडान गर्न सहज हुने भएकाले पहिलोपटक प्रयोगमा ल्याइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।