कास्की, जेठ १० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उद्योगी र व्यवसायीलाई मर्का पर्ने खालका विद्यमान नीति र कर प्रणालीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘समृद्ध प्रदेशका लागि प्रदेश सरकार र निजी क्षेत्र अन्तर संवाद’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेले उद्योगी र व्यवसायीलाई कुन नीतिले काम गर्न अप्ठ्यारो भयो भन्ने विषयमा सुझाव दिनसमेत आग्रह गर्दै भन्नुभयो “गण्डकी प्रदेशमा सञ्चालन गर्न आएका उद्योगहरु बाहिर जान हुँदैन, लगानी आकर्षित गर्न सरकारले अभिभावकीय भूमिका खेल्छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रका उद्योग वृद्धि र प्रोत्साहन गरेमात्र राज्यले आय वृद्धि हुन्छ ।”

गण्डकी प्रदेशको विशिष्टतालाई ध्यानमा राख्दै सरकारले पहाडी भेगका लागि फरक खालका कानुन बनाउन लागेको उहाँको भनाइ थियो । पहाडी क्षेत्रको बाँझो जमिन उपयोग गर्न र स्थानीयलाई स्वरोजगार बनाउन घरेलु मदिराको ‘ब्राण्डिङ’ र गाँजाखेतीलाई कानुनी मान्यता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभयो । 

पर्यटन र पूर्वाधारको क्षेत्रमा ठूलो लगानी भित्र्याउन प्रदेश सरकारले आगामी बजेटपछि लगानी सम्मेलन गर्ने तयारीका साथै निजी क्षेत्रसँगको सहकार्यमा लगानीका क्षेत्रहरुको पहिचान गरिने उहाँको भनाइ थियो । 

आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र कृषि उद्योग नै मुख्य आधार भएकाले प्रदेश सरकारले ती उद्योगलाई पहिलो प्राथामिकतामा राख्ने बताउनुभयो । आगामी आवको बजेट लगत्तै गण्डकी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारीमा रहेको जानकारी मन्त्री शेरचनले दिनुभयो । 

पूर्वउद्योग तथा जलस्रोतमन्त्री हरि पाण्डेले प्रदेश सरकारले निर्वाद रुपमा उद्योग सञ्चालन गर्ने वातावरण सृजना गरेको खण्डमा गण्डकी प्रदेशमा उद्योग सञ्चालन बढ्ने धारणा राख्नुभयो । 

त्यस अवसरमा उद्योगी तथा व्यवसायीहरुले लगानीमैत्री वातावरण निर्माण गरिए थप लगानीका लागि आफूहरु तयार भएको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशमान श्रेष्ठले उद्योग व्यवसाय सञ्चालन गर्न सरकारी प्रक्रिया झन्झटिलो, मजदुर समस्या र सरकारको निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणका पनि राम्रो नभएको धारणा राख्नुभयो । 

उद्योगी दीपक सापकोटाले सरकारले उद्योग खोल्न र सहज रुपमा सञ्चालन गर्ने वातावरण सृजना गर्न आवश्यक भएको बताउनुभयो । उद्योगी एवं मणिपाल शिक्षण अस्पतालका सञ्चालन नारायण पौडेलले पोखराको गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटन र कृषि उद्योग प्रमुख मानिने बताउँदै पोखरामा पर्यटन क्षेत्रमा लगानी गर्न देशीरिका उद्योगी इच्छुक भएको बताउनुभयो । उद्योगी एवं हाइड्रोपावर व्यवसायी पुष्पज्योति ढुङ्गानाले सरकारी नीति, मजदुर आन्दोलन र स्थानीयको अवरोध कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न हुने गरेको बताउनुभयो ।