नयाँदिल्ली, जेठ १ गते । इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीनलगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनुभएको छ । इरान र अमेरिकाबीचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदै आएको बेला इरानी विदेशमन्त्री अराघचीले मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीनलगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनुभएको हो।
“हामी सहयोग गर्ने हैसियत भएका कुनै पनि देशकोे सहयोगलाई स्वागत गर्छौं,” विशेष गरी चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार्य छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरूको बैठकका अवसरमा नयाँदिल्लीमा पत्रकारहरूसँगको संवादमा उहाँले भन्नुभयो ।
वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वासिङ्टनबाट प्राप्त भएको पनि विदेशमन्त्री अराघचीले बताउनुभएको छ। उहाँले भन्नुभयो, “हामीले उनीहरू वार्तालाई निरन्तरता दिन इच्छुक छन् भन्ने सन्देश अमेरिकी अधिकारीहरूबाट फेरि प्राप्त गरेका छौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सी जिनपिङले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनियाँ नेताले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेको बताएको एक दिनपछि अराघचीले उक्त कुरा बताउनुभएको हो ।
उहाँले अगाडि भन्नुभयो, “चीनसँग हाम्रो धेरै राम्रो सम्बन्ध छ, हामी एक अर्काका रणनीतिक साझेदार हौँ र हामीलाई थाहा छ कि चिनियाँहरूको मनसाय राम्रो छ, त्यसैले उनीहरूले कूटनीतिमा सहयोग पुर्याउन सक्ने कुनै पनि कुरालाई इस्लामिक गणतन्त्रले स्वागत गर्नेछ।
उहाँले भन्नुभयो, “पाकिस्तानको मध्यस्थता प्रक्रिया अझै असफल भएको छैन, तर मुख्यतः अमेरिकीहरूको व्यवहार र हामीबीच रहेको अविश्वासको कारण यो धेरै कठिन मार्गमा छ।”





