काठमाडौं, वैशाख २४ गते । भोलाकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपालमा पुस्तकालय’ आज केशर पुस्तकालयमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ ।
सो पुस्तकमा प्राचीन पुस्तकालयको इतिहास देखि लिच्छविकाल हुँदै वर्तमान समयसम्म नेपालका पुस्तकालयको इतिहास, अवस्था र विकासक्रम समेटिएको जनाइएको छ । उक्त पुस्तकलाई ‘वी रिड’ प्रकाशनले प्रकाशन गरेको हो । विमोचन कार्यक्रममा लेखक श्रेष्ठले पुस्तकमा नेपालमा पुस्तकालयको सम्पूर्ण विकासक्रम समेटिएको जानकारी दिनुभयो ।
त्यसैगरी, संविधानसभा सदस्य लीला न्याइच्याइले पुस्तकालयको महत्त्व तथा पठन संस्कृतिको विकासमा यस पुस्तकको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले अरुको इतिहास सङ्कलन, संरक्षण गर्ने पुस्तकालयको पनि आफ्नै उत्पत्ति, विकास इतिहास हुने धारणा राख्नुभयो ।
नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले पनि पुस्तकालयको महत्वबारे चर्चा गर्दै ‘नेपालमा पुस्तकालय’ पुस्तक पुस्तकालय इतिहाससम्बन्धी गहकिलो र महत्त्वपूर्ण कृति भएको उल्लेख गर्नुभयो ।





