मकवानपुर, वैशाख २२ गते । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । उक्त प्रदेशको मन्त्रिपरिषद् बैठकले हालको १४ मन्त्रालयलाई घटाएर ८ वटा मन्त्रालय मात्रै राख्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषदको निर्णय अनुसार बागमती प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकार, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास, कृषि, पशुपन्छी, वन तथा वातावरण, खानेपानी, ऊर्जा तथा सिँचाइ, उद्योग, पर्यटन, श्रम तथा यातायात, कायम कृषि, पशुपन्छी, वन तथा वातावरण, स्वास्थ्य तथा सामाजिक विकास र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय रहने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

प्रवक्ता तामाङका अनुसार प्रदेश सरकारको यो निर्णय आगामी आर्थिक वर्ष अर्थात् साउन १ गतेदेखि मात्र कार्यान्वयन गरिने छ । मन्त्रालयको सङ्ख्या कटौतीले पाँच अर्ब रुपैयाँभन्दा बढी रकम बचत हुने अपेक्षा गरिएको छ । यसअघि बागमती प्रदेश सरकारले खर्च कटौती गर्न प्रशासनिक पुनःर्सरचना गर्ने बताएको थियो ।

प्रवक्ता तामाङले मन्त्रालयको सङ्ख्या कटौती भएता पनि चालु आर्थिक वर्षमा तत् तत् मन्त्रालयहरुमार्फत गरिने कामहरुको लागि बजेट व्यवस्था भइसकेकाले साउन १ गतेदेखि विघटन हुने मन्त्रालयहरुले चालु आ.व.सम्म काम गर्ने बताउनुभयो । आगामी आर्थिक वर्षमा आउने नयाँ बजेटमा अब ८ वटा मन्त्रालयको कोडिङ अन्तर्गत नै इन्ट्री हुने छ । नयाँ मन्त्रालयको पुनर्गठित संरचना अनुसारको बजेट कोडिङ बनाएर बजेट सिलिङ जाने भएको छ ।

मन्त्रालयको सङ्ख्या कटौती भएसँगै मातहतका कार्यालयहरूको सङ्ख्या पनि घट्ने भएको छ । अब मातहतका कार्यालयको सङ्ख्या पनि १९८ बाट घटेर १४८ मात्रै रहने भएको छ । यसोगर्दा बागमती प्रदेश सरकारको आगामी आ.व.को वार्षिक रुपमा सार्वजनिक खर्च ५ अर्ब रुपैयाँ कम हुने अनुमान गरिएको छ ।