काठमाडौँ, वैशाख १९ गते ।
‘एकपल हाँसोको खोजीमा निस्केको म
पलपल रोएको छु
एकक्षण खुसीको आसमा हिँडेको म
हरक्षण दुःखमा फसेको छु ।’
साहित्यकार दिनेशकुमार थपलियाका कविताका यस्तै हरफ समाविष्ट कविताकृति ‘म गाउँ फर्किन्छु’ माथि परिचर्चा भएको छ । नागार्जुन वाङ्यमय प्रतिष्ठानद्वारा आज आयोजित ‘शुभप्रभात काव्यगोष्ठी’ मा साझा प्रकाशनले छापेको यो कृतिमा छलफल भएको हो ।
समालोचक ज्ञानु अधिकारीले कृतिको समीक्षा गर्दै कविको जीवनसँगै देशको अवस्थाको पनि चित्रण भएको बताउनुभयो । साहित्यकार विमल कोइरालाले कृतिकार थपलिया सचेत र सक्रिय व्यक्तित्वका साथै सामाजिक परिवेशलाई सृजनामा उतार्न सक्ने स्रष्टा भएको बताउनुभयो ।
साहित्यकार थपलियाका २०४० देखि २०६३ सालसम्मका कविता ‘म गाउँ फर्किन्छु’मा समावेश छन् ।
गोष्ठीमा पूर्ण विराम, पार्वती भट्ट, कृष्ण बाउसे, वैरागी जेठा, सरस्वती चिमोरिया, नवराज उत्साही, दील पौडेल, युवराज नास्तिक, मुकुन्द रेग्मी, शर्मीला तिमल्सिनालगायतका कविता र गजल पनि वाचन गरिएको थियो ।





