मकवानपुर, वैशाख १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँल सरकार पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । हाल मुख्यमन्त्री बानियाँले प्रदेशमा रहेका मन्त्रालयहरुको सङ्ख्या कटौती गरी मन्त्रिमण्डल पुनर्गठनको तयारी गर्नुभएको हो ।
बागमती प्रदेश सरकारको कार्यसम्पादनमा अपेक्षाकृति नतिजा प्राप्त नभएको भन्दै प्रशासनिक पुनर्संरचना समेत गर्न लागिएको बताइएको छ । प्रदेश सरकारले आर्थिक व्ययभार र प्रशासनिक खर्च कम गर्ने उद्देश्यसहित कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रायलय घटाई मन्त्रिमण्डल पुनर्गठन गर्न गृहकार्य भइरहेको मुख्यमन्त्री बानियाँले बताउनुभयो । यस सम्बन्धमा आफ्नो पार्टी नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुसँग पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने मुख्यमन्त्रीको सोच रहेको बुझिन्छ ।
प्रशासनिक पुनर्संरचनाका लागि गठित विज्ञ समिति र संसदीय समितिहरूले सरकारलाई आफ्नो तर्फबाट सुझाव पेश गरिसकेका छन् । प्राप्त सुझावका आधारमा सरकारका तर्फबाट गरिनुपर्ने प्रशासनिक पुनर्संरचना र मन्त्रिपरिषद् पुनर्गठनको कामले तिब्रता लिन नसक्दा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणमा ढिलाई हुने देखिएको छ । हाल ११ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा अब पुनर्संरचना गर्दा बढीमा नौ वटा मन्त्रालय बनाउने योजना रहेको बुझिएको छ ।
बजेट निर्माण कार्यतालिका अनुसार चैत अन्तिम साताभित्र बजेट सिलिङ उपलब्ध गराएर हाल योजना कार्यक्रम छनोट प्रक्रियामा सरकार अघि बढ्नु पर्नेमा सरकारले उक्त कार्य गर्न नसक्दा मन्त्रालयहरूले बजेट सिलिङ पाउन सकेका छैनन् ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रशासनिक भार कम गर्न र चालु खर्च कटौती गर्न मन्त्रालयहरूको पुनर्संरचनाको प्रक्रियालाई अन्तिम चरणमा पुर्याइएको जानकारी दिंदै प्रदेशको आगामी बजेटमा चालुपुँजी २० प्रतिशतसम्म घट्न सक्ने बताउनुभयो ।




