काठमाडौँ, वैशाख १० गते । काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका विजेताहरूलाई कामपाले सम्मान गरेको हो ।

कामपाले अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता दुई जना खेलाडीलाई नगदसहित सम्मान गरेको हो । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनुहुनेमा क्योकुसिन तेजुका वल्र्ड कप रजत पदक विजेता दावा शेर्पा हुनुहुन्छ । जापानको सेन्दाइ तथा फुकुओकामा २०२५ फेब्रुअरी २१ गतेदेखि २५ गतेसम्म आयोजना भएको चौथो क्योकुसिन तेजुका वल्र्ड कपमा शेर्पाले नेपाल क्योकुसिन कराते ९इको० सङ्घका तर्फबाट भाग लिनुभएको थियो । उहाँलाई रु एक लाख ५० हजार नगदसहित सम्मान गरिएको हो ।

यस्तै सन् २०२५ नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म संयुक्त राज्य इमिरेट्स दुबईमा आयोजना भएको मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापालाई रु एक लाख नगदसहित सम्मान गरिएको हो । ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुभएका थापाले इन्डोनेसियाको अरमानिया र क्वार्टरफाइनलमा इरानलाई पराजित गरेर कास्य पदक प्राप्त गर्नुभएको थियो ।

सम्मान अवसरमा कामपाले खेलका प्रशिक्षकहरूलाई समेत सम्मानित गरेको थियो । सम्मानपछि सामाजिक समितिका संयोजक केसीले खेलाडीहरूको मनोबल उच्च बनाउन कामपाले लगानी बढाउँदै लैजाने बताउनुभयो । “खेलाडीहरूले देशकै नाम राख्नुभएको छ । उहाँहरूलाई लक्ष्यमा पुग्न हामी सहयोग गर्छौँ”, केसीले धारणा राख्नुभयो । त्यस अवसरमा प्रशिक्षक र खेलाडीहरूले कामपाले खेल क्षेत्रबाट गरेको अपेक्षा पूरा गराउन आफूहरू मिहिनेत गर्न प्रोत्साहित भएको बताउनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गीसहित अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।