बाजुरा, माघ ४ गते। जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ः०० बजे एक घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ । गौमुल–२ कुहुडा बस्ने ३० वर्षीय विष्णु रोकायाको घरमा विद्युत्को तार सट भई आगलागी हुँदा खरले छाएको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्युत्को तार सट भई आगलागी भएको खबरपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली खटिएको छ । खरले छाएको तीनतले घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेको प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट लाखौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरी टोली घटनास्थल गएकाले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।







