काभ्रेपलाञ्चोक, पुस ३ गते। काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भइरहेका मालवाहक टिपरहरूको गतिविधिमा अब नियमन कडाइका साथ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलले टिपरबाट हुने ओभरलोड तथा अव्यवस्थित ढुवानीलाई नियन्त्रण गर्न चार बुँदे निर्णय लागू गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको नदीजन्य पदार्थ ढुवानी तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो। बैठकले जिल्लाभित्र सञ्चालित नदीजन्य पदार्थका खानी, क्रसर उद्योग तथा विभिन्न आयोजनाका लागि ढुङ्गा, गिट्टी र बालुवा लोड गर्दा क्षमता भन्दा बढी ओसारपसार गरिएको र खोलाबाट पानीसहित सामग्री लोड गरी सडकमा पानी चुहाउँदै गुड्दा सडक क्षति, सुरक्षा जोखिम र ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ। त्यसैले अबदेखि खानी सञ्चालक र टिपर व्यवसायीले ओभरलोड नगर्ने र पानीसहितको निर्माण सामग्री ढुवानी नगर्ने व्यवस्था लागू गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, निर्माण सामग्री ढुवानीका लागि पास लिएका केही टिपरले पासको दुरुपयोग गर्दै तोकिएको आयोजना बाहेक अन्यत्र सामग्री पुर्‍याएको पाइएको भन्दै सम्बन्धित आयोजना वा योजनाका प्रमुखले यस्तो अनियमितता हुन नदिने व्यवस्था कडाइका साथ मिलाउने निर्णय पनि गरिएको छ।

निर्णय कार्यान्वयनका लागि निर्माण सामग्री ढुवानी पास नलिएका टिपरका विषयमा टिपर व्यवसायी सङ्घमार्फत सम्बन्धित टिपर धनीलाई जानकारी गराउने र खानी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिबाट प्रभावकारी अनुगमन गराउने व्यवस्था गरिएको छ। बैठकमा खानी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सूर्यविनायक–धुलिखेल सडक आयोजना प्रमुख र सम्बन्धित सडक खण्ड निर्माण कम्पनीका प्रतिनिधिहरूले निर्णयमा हस्ताक्षर गरेका छन्।

निर्णय अनुसार व्यवस्था कार्यान्वयन नगरे प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट गरिएको छ। साथै, तोकिएका आयोजना बाहेक अन्य निर्माण सामग्री ढुवानीका लागि काभ्रेपलाञ्चोकमा टिपरहरूलाई राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन अनुमति दिइने भएको छ।