काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरको खेल हुँदैछ । आज बिहीबार अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । आजको खेल जित्ने टिम फाइनलमा पुग्नेछ ।

लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । यस अघि भएको लिग चरणको खेलमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो ।

आज हुने खेलमा विराटनगर लुम्बिनीसँगको पराजयको बदला लिन मैदानमा उत्रिनेछ । आजको खेलमा जित हात पार्ने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७ गते शनिबार हुनेछ ।