काठमाडौँ, असोज १७ गते । बडादसैँको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ । दसैंको टीका पूर्णीमाको दिनसम्म लगाउने नेपाली परम्परा रहेकाले आज दोस्रो दिन पनि आफन्त मान्यजनहरुको हातबाट दसैंको टीका ग्रहण गरिएको हो ।
हाम्रा समाचारदाताहरूका अनुसार देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ भने सार्वजनिक यातायातका साधन पनि भरिभारउ छन् । कहीँ सार्वजनिक यातायातको लामो प्रतीक्षा गर्नुपरेको गुनासो पनि टीका थाप्न जानेहरूले गरेका छन् ।
काठमाडौँ उपत्यकाका सडकमा पनि सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् भने मुख्यचोकमा निजी सवारी साधनको पनि ताँती लागेको छ । उपत्यका बाहिर जानेहरु पनि बाहिर जानेक्रम भइरहेको छ ।







