काठमाडौँ, साउन १३ गते । सात दलको सङ्घीय लोकतान्त्रिक मोर्चामा फाटो पैदा भएको छ । मोर्चाको सोमबार बसेको बैठकलाई जनमत पार्टीले बहिष्कार गरेको छ । आगामी कात्तिक १७ मा हुने रूपन्देही–३ को प्रतिनिधिसभा सदस्य पदको उपचुनावमा मोर्चाको तर्फबाट एउटै संयुक्त उम्मेदवार उठाउने भनिएपछि जनमत पार्टी सोमबारको बैठकमा नगएको पार्टी प्रबक्ता शरद सिंह यादवले बताउनुभयो । उहाँले मोर्चामा जनमत पार्टी बस्ने वा नबस्ने भन्ने विषयमा पार्टीले अगामी दिनमा पुनर्विचार गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान संशोधनका लागि मुलमर्मसहित पार्टीहरूको मोर्चा गठन भएको थियो । रूपन्देहीमा उपनिर्वाचन हुँदैछ । त्यसमा मोर्चाको तर्फबाट संयुक्त उम्मेदवार उठाउने भनियो । हामीले चुनावका लागि मोर्चामा गएका होइनौं ।’ रूपन्देहीको उपनिर्वाचनमा पार्टीले आफ्नै उम्मेदवार उठाउने गरी तयारी गरिसकेको समेत उहाँले बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मोर्चाको बैठक बोलाइएको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतबीच राम्रो सम्बन्ध छैन । २०७९ को निर्वाचनमा सप्तरीमा यादवलाई हराएर डा। राउतले जितेका थिए ।
जनमत पार्टीले बैठक बहिष्कार गरेपछि मोर्चामा दरार पैदा भएको छ । अब जनमत पार्टी मोर्चाबाट बाहिरिएको हो ? भन्ने प्रश्नमा जनमत पार्टीका प्रवक्ता यादवले भने, ‘अहिले हामी बाहिरिएका होइनौं । तर, मोर्चामा बस्ने कि न बस्ने ? भन्नेबारे पुनर्विचार गरिरहेका छौं ।’ खासमा संविधान संसोधनका मोर्चा गठन भएको बताउँदै उनले थपे, ‘संविधानमा समावेश गर्न बाँकी रहेका मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलितलगायत अधिकारका लागि सडक र सदनमा हामी मोर्चासँग मिलेर संघर्ष गर्छौं । यो मोर्चा विगत् जस्तो कसैलाई मन्त्री, सांसद् बनाउनका लागि मोर्चा बनेको होइन ।’ मधेसको अधिकारका लागि यसअघि पनि मधेस केन्द्रित दलहहरूको कयौं पटक मोर्चा गठन भएको थियो । व्यक्तिगत स्वार्थमा भित्रकै नेताहरूले मोर्चालाई फुटाएको थियो । मोर्चा गठन भएको चार महिना नबित्दै पुरानै रोग बल्झिने खतरा बढेको छ ।
मोर्चाको निर्धारित कार्यक्रम, कुमार लिङ्देन तथा केपी पालुङवाको पार्टी र मोर्चाबीच सहकार्य सम्बन्धमा बैठक बोलाइएको थियो ।
समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर तरार्ई–मधेसकेन्द्रित दलहरूले २१ चैत्र, २०८१ मा सात दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका थिए । गठनको बेला मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहभागी थिए ।
साता पार्टीले मिलेर बनाएको मोर्चाको मुल मर्म थियो, ‘संविधान संसोधन गराउने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्नरगराउने, संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्न एक भएर लड्ने ।’ तर, मोर्चाले संयुक्त रूपमा उपनिर्वाचनमा उम्मेदवार उठाउने भनेपछि जनमत बिचकिएको हो ।
यता मोर्चामा सहभागी दल जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले के कारण जनमत पार्टी बैठकमा सहभागी भएन आफूलाई थाहा नभएको बताउनुभयो । ‘हामीले सामुहिक रूपमा सबै दल मिलेर समान उद्देश्यका लागि मोर्चा बनाएका छौं’, उहाँले भन्नुभयो, ‘पहिचान र अधिकार पक्षधर पार्टीहरूसँग थप वार्ता भइरहेको छ । अब मोर्चामा बस्ने वा नबस्ने जनमत पार्टीलाई सोध्नुस् ।’ मोर्चामा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतको असहयोग पहिलेदेखि नै रहेको उहाँले स्पष्ट पार्नुभयो।
सोमबार बसेको मोर्चाको बैठकले देशको ८ स्थानमा खबरदारी सभा गर्ने मिति जिम्मेवारी तोकेको छ । साउन १८ गते काठमाडौंंमा हुने खबरदारी सभाको संयोजन मोर्चाको सचिवालयले गर्ने, २१ गते भैरहवाको नागरिक उन्मुक्ति पार्टीको संयोजन, २३ गते नेपालगञ्जमा जनता प्रगतिशील र जसपा नेपाल र २५ गते कैलालीमा नागरिक उन्मुक्ति पार्टीले खबरदारीसभाको संयोजन गर्ने निर्णय भएको छ । भदौ १६ गते विराटनगरमा जसपा नेपाल, १८ गते राजविराजमा राष्ट्रिय मुक्ति पार्टी, २० गते जनकपुरमा तरार्ई मधेस लोकतान्त्रिक पार्टी र २२ गते बीरगन्जमा लोकतान्त्रिक समाजवादी पार्टीले खबरदारी सभाको सयोजन गर्ने निर्णय भएको छ । (आजको अन्नपूर्णपोस्ट दैनिकबाट)







