काठमाडौँ, असार २ गते । जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो सामूहिक समस्याका रुपमा देखापरेको छ । यसले विश्वको ध्यान केन्द्रित गरिहेको छ ।
जलवायु परिवर्तनले समग्र मानव जातिलाई मात्र नभएर पर्यावरणीय चक्रलाई नै खल्बल्याइरहेको छ । जसरी जलवायु परिवर्तनले विश्वभरि असर पारेको छ, त्यसैगरी नेपाल पनि प्रभावित बन्दै आइरहेको छ । जलवायु परिवर्तनले सबैभन्दा बढी असर नेपालका उच्च हिमाली क्षेत्रमा पारेको देखिन्छ । समग्रमा भन्ने हो भने जलवायु परिवर्तनले वातवारणीय असर मात्र पारेको छैन्, मानवीय सङ्कट पैदा गरेको छ । युगौँदेखिको परम्परा र संस्कृति लोपन्मुख भइरहेको छ । रैथाने कृषि प्रणाली तथा प्रविधि र खानाका परम्परागत परिकारहरु हराउँदै गइरहेका छन् । मानवीय सम्बन्ध, सामाजिक अन्तरसम्बन्ध तथा भौगोलिक सम्पन्नता पनि जलवायु परिवर्तनले प्रभावित बनाएको छ । मानव र वन्यजन्तुबीचको सम्बन्ध पनि खल्बलाएको छ । प्राकृतिक द्वन्द्व सिर्जना गराएको छ । र, जलवायु परिवर्तनले परम्परा र आधुनिकताबीचको नवीन सङ्घर्ष जन्माएको छ ।
म्यान्ग्रोव फाउन्डेसनले गरेको एक अध्ययनअनुसार उच्च पहाडी भेगमा पछिल्ला केही दशकहरुमा नाटकीय परिवर्तनहरु आएको जनाएको छ । उक्त अध्ययनले पहिले वर्षभरि हिउँले ढाकेका पहाडहरु अहिले खाली र सुक्खा हुँदै गइरहेका छन् । र, हिमाली क्षेत्रमा हिमनदी, बरफ र हिउँले ढाकिएको क्षेत्र विश्वको औसतभन्दा धेरै छिटो घटिरहेको जनाएको छ । हिमाली क्षेत्र, अरू क्षेत्रभन्दा दुई गुणा छिटो तात्दै गइरहेको अनुसन्धानले जनाएको छ । विश्व तापमानले हिउँ र बरफको मात्रामा गम्भीर प्रभाव पारेको छ । यसले हिमाली क्षेत्रमा मानवीय सङ्कट पैदा गर्दै गइरहेको छ । यो मानव जाति र प्रकृति दुवैका समस्या बन्न पुगेको छ ।
यस्तै, मुस्ताङ पनि जलवायु परिवर्तनको असरबाट प्रत्यक्ष प्रभावित भइरहेको छ । पानी नपर्ने तर हिउँ पर्ने भनेर चिनिएको हिमालपारिको जिल्ला मुस्ताङमा नियमित हिउँ पर्न छोडेको वर्षौं भयो । हिउँमै जन्मी हुर्की खेलेका मुस्ताङीलाई हिउँ नै बिरानो बन्न थालेको छ । हिउँदमा कहिलेकाहीँ देखिने हिउँले उनीहरुलाई जिस्काइरहेको अभास हुन थालेको छ । उनीहरु सोचिरहेका छन्, किन उहिलेको जस्तो हिउँ पर्दैन रु किन पहिलेको जस्तो खेतीपाती हुँदैन रु जस्ता प्रश्नहरुले घच्घच्याइरहेको छ । उनीहरुले जीवनशैली फेरिएको अनुभव गरिरहेका छन् । आफ्नै आँखा अगाडि हिमाल डाँडामा परिणत भएको देखेका छन् । कृषि उत्पादन भूमि सुक्खा बगरमा परिणत भएको अनुभव गरिहेका छन् । उनीहरुले आफ्ना लेकहरुमा याक, चौँरी तथा च्याङ्ग्राका बथानहरुको अगुवाइ गर्न छाडिसके । वरिपरिका सुक्खा डाँडाहरुमा बेमौसममा पहिरो गएको आफ्नै आँखासामु देखेका छन् ।
गाउँको पानीको मूलमा पानी आउन छोडेको छ । हिमालबाट आउने पानीका मुहानहरुमा पानी कम हुँदै गइरहेको छ । स्थानीय भाषा, कला तथा संस्कृतिमा परिवर्तन आएको छ । स्थानीय परम्परामा आधारित व्यवसाय सङ्कटमा परेका छन् । मुस्ताङबासी यस्तै परिवर्तन भोग्दैदेख्दै आइरहेका छन् । समयक्रमसँगै भएको परिवर्तनले स्थानीय बासिन्दाको जीवनशैली तथा प्रभावित भएको छ । योभन्दा ठूलो असर प्रकृतिमा परेको छ । यसको मूल कारण भनेको जलवायु परिवर्तन हो ।
जलवायु परिवर्तनले मुस्ताङमा मानिसको बासस्थान मात्र नभएर पर्यावरण नै प्रभावित भइरहेको छ । मुस्ताङमा पनि अरू हिमाली क्षेत्र जस्तै हिमताल सङ्कटमा रहेका छन् । ताल सुक्ने तथा विस्फोट हुने खतरा पनि बढी रहेको छ । पछिल्ला वर्षहरुमा मुस्ताङमा पानी पर्न थालेको छ । यसको कारण बाढीको प्रकोपमा स्थानीय गाउँबस्तीहरु मारमा पर्ने गरेका छन् । उदाहरणका लागि, २०८० साउन २८ गते कागबेनीमा आएको बाढीले त्यस क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । समयमा समयमा हुने तीव्र हावाहुण्डरी तथा असिनापानीले कृषिबालीमा असर पर्न थालेको छ । मुख्यगरी अप्रत्याशित हुने हिमपात, बरफको आँधी तथा खडेरीले पनि जनजीवन प्रभावित हुने गरेको छ । यसले गर्दा यस क्षेत्रका गरिबी रेखामुनि रहेका तथा भौगोलिक जोखिममा परेका समुदायलाई बढी प्रभावित बनाएको छ ।
गाउँघरमा खाना पकाउनका लागि प्रयोग हुने दाउरा पनि पाइँदैन । डाँडामा भएका सामान्य बुट्यानबाहेक ठूल्ठूला रूखहरु लोप हुँदै गइरहेका छन् । बुबाबाजेले घरमाथि जम्मा पारेका दाउरा अचेल नासोका रुपमा मात्र छन् । किनभने उतिबेलाको जस्तो घनाजङ्गल अहिले छैनन् । अचेल खाना पकाउन ग्यासको प्रयोग गरे पनि हिउँदमा जाडो हुँदा भने निकै कठिनाइ भोगिरहेका छन् । दाउरा नहुँदा बालबालिका तथा ज्येष्ठ नागरिक अझ बढी प्रभावित हुने गरेका छन् । उनीहरुका लागि जाडोबाट बच्न एक मात्र उपाय भनेको दाउरा बालेर आगो ताप्नु र घरलाई न्यानो बनाउनु हो । तर अब त्यो सम्भावना कम हुँदै गइरहेको छ । यसको कारण हिउँदे जीवन प्रभावित हुन थालेको छ ।
जलवायु परिवर्तनसँगै बढ्दो तापक्रम तथा वायुमण्डलमा आएको परिवर्तनले यस क्षेत्रमा स्थानीयको स्वास्थ्यमा समस्या देखिन थालेका छन् । मुस्ताङको जोमसोम उपत्यका तथा वरिपरिका बस्तीहरुमा लामखुट्टे देखिन थालेका छन् । जुन भविष्यमा स्थानीय बस्तीका लागि निकै ठूलो स्वास्थ्य समस्या बन्नेछ । बढी हावा चल्ने कारणले बेमौसमा चिसो हुने गरेको छ । यसका कारण रुघाखोकी तथा ज्वरोलगायत रोगहरु बढिरहेका छन् । यसमा पनि अझ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी प्रभावित बनाएको छ ।
जलवायु परिवर्तनले मुस्ताङका विभिन्न क्षेत्रहरु हुने खेतीपाती तथा पशुपालनलाई प्रभावित बनाएको छ । यस क्षेत्रका मुख्य कृषिबालीहरु आलु, उवा, जौ तथा फापरलगायतका उत्पादनमा कमी आएको छ । कमी आउनुको मुख्य कारण बेलैमा हिउँ नपर्नु हो । यस क्षेत्रमा हिउँ नपरेसम्म बाली सप्रिँदैन । हिउँ नपरेपछि सिँचाइमा पनि समस्या देखिन थालेको छ । स्थानीय नदीनालाहरुमा पानीको मात्रा कम हुन थालेको छ । अझ सानातिना खोलाहरु त सुक्दै गइरहेका छन् । हिउँ तथा पानी नपरेपछि खेतबारी सुक्खा हुँदै गएका छन् । अर्को कुरा, पशुपालन गर्न कठिनाइ भएपछि मलको अभाव भएको छ । स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादनले सहजै बजार नपाउनु पनि समस्याको रुपमा देखिएको छ ।
पशुपालन यहाँको अर्को मुख्य पेसा हो । च्याङग्रा, चौँरी तथा भेडाबाख्राहरु पाल्न कठिन हुन थालेको छ । पशुपालन नहुँदा ऊन उत्पादनमा कमी आएसँगै धेरैको मुख्य पेसा नै सङ्कटमा परेको छ । एकातिर व्यवसाय घटेको छभने अर्कोतिर स्थानीय कलासंस्कृति तथा परम्परामा आधारित लुगाहरु उत्पादन हुन छोडेको छ । यसले मस्ताङको मौलिक परिचय नै सङ्कटमा परिरहेको छ । अर्को कुरा, प्रशस्त मात्रामा स्थानीय कृषि उत्पादन नहुँदा स्थानीय बासिन्दा बाहिरबाट आएको महङ्गो खानेकुरा खान बाध्य छन् । त्यति मात्र हैन, स्थानीय रैथाने खाना तथा परिकारहरु लोप हुँदै गइरहेका छन् । यसले मुस्ताङीको जीवनचक्रलाई परिवर्तन गरेको छ । उनीहरुलाई अचानक आएको परिवर्तनलाई स्वीकार्न सकस हुँदै आएको छ ।
गाउँहरु युवाविहीन देखिन्छन् । गाउँमा आफ्नो भविष्य नदेखेका युवाहरु जीविकोपार्जनका लागि गाउँ छोड्न बाध्य छन् । एकातिर अवसरको कमी, अर्कोतिर परम्परागत व्यवसाय सङ्कटमा परेको कारण युवाहरुका लागि गाउँ बस्नयोग्य रहेन । आफूले भोगेका पीडा आफ्ना सन्तानले नभोगून् भनेर परिवारले उनीहरुलाई पढाइका लागि भनेर शहर पठाउन थालेका छन् । आफ्नो सुन्दर भविष्यका लागि युवाहरु पोखरा, काठमाडौँ तथा विदेश जान थालेका छन् । गाउँ छोड्ने युवाको सङ्ख्या दिनानुदिन बढिरहेको छ । गाउँमै बसिरहेका युवाहरुलाई पनि सहज छैन । उनीहरु पनि विकल्पको खोजीमा छन् । यही क्रममा युवा पलायन हुँदै गए भने मुस्ताङका बस्ती उजाड हुँदै जानेछन् । मुस्ताङको त्यो गौरवमय इतिहास, कला, संस्कृति तथा पहिचान सङ्कटमा पर्नेछ ।
हिमाल संरक्षणका लागि नेपाल सरकारले दिगो नीति तथा योजना ल्याउनुपर्छ । मुस्ताङ मात्र नभएर हिमाल जोगाउनका लागि विशेष पहलकदमी गरिनुपर्छ । स्थानीय भाषा, कला, संस्कृति तथा पहिचानलाई जोगाउनका लागि पनि सरकारले दीर्घकालीन रणनीति अपनाउनुपर्छ । हिमाली क्षेत्रमा बसोबास गरिरहेकाहरुको वैकल्पिक जीवन जिउने कला तथा सीपको विकास सुनिश्चित गरिनुपर्छ । त्यति मात्र हैन, सरकारले मुस्ताङबासीलाई जलवायु न्याय दिनुपर्छ । जलवायु परिवर्तनले पारेको क्षति तथा असरलाई न्यूनीकरण गर्न पनि उनीहरुलाई क्षतिपूर्ति तथा न्याय दिइनुपर्छ । जलवायु न्याय सुनिश्चित गर्न नेपाल सरकारले ठोस नीति तथा कार्यक्रम तत्कालै ल्याइनुपर्छ, जसले गर्दा उनीहरुलाई राहत मिलोस् । जीवन जीउने कलाको विकास हुँदै जाओस् र जीवन्त मुस्ताङ बचिरहोस् । (लेखक जलवायु परिवर्तनसम्बन्धी अध्यता हुनुहुन्छ)