काठमाडौँ, जेठ ३० गते । अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर चलचित्र ‘महाभोज’ तयार भएको बताउनुभएको छ । नेपालको पहिलो चलचित्र ‘आमा’ मासमेत अभिनय गर्नुभएकी अभिनेत्री भुसालले सहकारीका नाममा ठगिएका नागरिकको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताका विषयवस्तुलाई सशक्त रूपमा उठाइएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवारसँगै समाजमा पार्ने असरलाई देखाएका छौँ । म आफैँ सहकारी पीडित हुँ, मैले यसविरुद्ध आवाज उठाएँ, आन्दोलन गरेँ तर न्याय अझै पाएकी छैन । यो चलचित्र हामीजस्ता अन्यायमा परेका पीडितको आवाज हो । यसले एउटा बुलन्द आवाज उठान गर्छ भन्ने मैले विश्वास लिएकी छु ।”

   अभिनेत्री भुसालले सहकारीमा जीवनभरको रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नुपरेको बताउनुभयो । सहकारीमा बचत गरेको रकम अपचलन हुँदा आफूसहित केही नजिकका नातेदारलाई समस्या परिरहेका कारण उक्त चलचित्रले हालको एउटा सशक्त समस्यालाई उठान गरेको अभिनेत्री भुसालले बताउनुभयो । “चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । यद्यपि, यो सहकारीको विषयमा मात्र केन्द्रित छैन”, उहाँले भन्नुभयो ।

    चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियसन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्र आजदेखि प्रदर्शनमा आएको छ ।