हुम्ला, जेठ २७ गते यहाँका छ गाउँपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय समुदायमा रहेका भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदा जगेर्ना गर्न स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वय मार्गदर्शन २०७६ (मातृभाषा सहित) अनुसार ती स्थानीय तहले पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेका हुन् ।
स्थानीय पाठ्यक्रममार्फत बालबालिकालाई आफ्नो परिवेशबाट सिक्न, नजिकको वातावरण, भूगोलबारे बुझ्न, सम्बन्धित ज्ञानको उत्खनन गर्न, समुदायमा रहेका मूल्य, मान्यता र ज्ञान परीक्षण गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसै शैक्षिक सत्रबाट पाठ्यक्रम लागू गरिएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिनुभयो ।
स्थानीय पाठ्यक्रम सम्बद्ध सबैका लागि उपयागी हुने विश्वास लिइएको अदानचुली गाउँपालिकाको पाठ्यक्रम निर्माणका विज्ञ सदस्य डा दीपेन्द्र रोकायाको भनाइ छ ।
सातवटा गाउँपालिका भएको हुम्लाका पाँच स्थानीय तहहरु नाम्खा, सिमकोट, खार्पुनाथ, ताँजाकोट र सर्केगाडले यसै शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन्भने अदानचुली गाउँपालिकाले भर्खरै निर्माण गरेको भए पनि यसै वर्षबाट लागू गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीले बताउनुभयो । चङ्खेली गाउँपालिकाले आगामी वर्षबाट लागू गर्ने जनाएको छ ।